पर्सा -विश्व साइकल दिवसको अवसरमा आयोजित साइकल र्याली सम्पन्न भएकाे छ । विश्व साइकल दिवसको अवसरमा बुधबार वीरगञ्जमा भारतकाे महावाणिज्य दूतावासकाे सहकार्यमा साइक्लिङ क्लबले साइकल र्याली सम्पन्न गरेकाे हाे ।

महावाणिज्यदूत देवी सहाय मीनाले महावाणिज्य दूतावास परिसरबाट झण्डा देखाएर र्यालीको सुरुवात गरेका थिए । उक्त र्याली घण्टाघर, माईस्थान, आदर्शनगर, छपकैंया हुँदै भारत-नेपाल सीमा नजिकै रहेको शंकराचार्य गेट हुँदै महावाणिज्य दूतावासमा फर्किएकाे थियाे ।
उनले भने,'साइकल वातावरणमैत्री, किफायती र दिगो यातायातको माध्यम भएको र साइकल चलाउनुले स्वास्थ्य र तन्दुरुस्ती बढाउनुपर्छ । ' यस्ता पहल र कार्यक्रमहरूले भारत र नेपालबीचको जन-जन बीचकाे सम्बन्धलाई बलियो बनाउने कुरा पनि उनले उल्लेख गरे । सफा र स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउन छोटो दूरीको लागि साइकललाई यातायातको माध्यमको रूपमा प्रयोग गर्ने प्रतिबद्धता उनले दिए । छोटो भेलासँगै समापन भएकाे कार्यक्रममा महावाणिज्यदूत मीनाले विश्व साइकल दिवसको महत्त्वमाथि प्रकाश पारे ।

कार्यक्रममा उत्साहजनक सहभागिता थियाे । र्यालीमा विभिन्न क्षेत्रका धेरै व्यक्तिहरू उत्साहजनक रूपमा सहभागी भएका थिए । र्यालीमा स्थानीय व्यवसायीहरू,वीरगञ्ज उधाेग वाणीज्य संघका सदस्यहरू, नेपाल युवा उद्यमी मञ्च (वीरगञ्ज शाखा), वीरगञ्ज साइक्लिङ क्लबका सदस्यहरू, नागरिक समाजका सदस्यहरू, वाणिज्य दूतावासका अधिकारीहरू तथा विद्यार्थीहरू सहभागी थिए।
यस साइकल र्यालीले स्वस्थ जीवनशैली र दिगो गतिशीलता प्रवर्द्धनमा भारत र नेपालको साझा प्रतिबद्धतालाई जोड दिएकाे छ ।