काठमाडौं- वैदेशिक रोजगारीमा ठगी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने बर्दिया मधुवन नगरपालिका-७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने मकवानपुर बकैया गाउँपालिका-२ घर भएका ३८ वर्षीय तिर्थमान भोलन, काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने गोरखा पालुङटार नगरपालिका-६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल, काठमाडौं महानगरपालिका-६ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४४ वर्षीय उपेन्द्र तामाङ रहेका छन् ।
यसैगरी सुनसरी इटहरी उपमहानगरपालिका-१ घर भएका ४५ वर्षीय उज्वल थापा मगर, बर्दिया बढैयाताल गाउँपालिका-९ घर भएका ३२ वर्षीय प्रकाश सिंखडा, काठमाडौं महानगरपालिका-३ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २३ वर्षीया ज्योती गुरूङ र काठमाडौं महानगरपालिका-१० बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-३ घर भएका ४५ वर्षीय राजिव न्यौपाने रहेका छन् ।
पक्राउ मध्ये राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, उज्वलले क्यानडा पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रूपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, ज्योतीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र राजिवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेकाे थियाे ।
साेहि उजुरीकाे आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट, तिर्थमान र गोवर्धनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट, उज्वललाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट र प्रकाशलाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बाट सोमबार तथा रोशनलाई काठमाडौं महानगरपालिका-१० बाट, उपेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट, ज्योतीलाई काठमाडौं महानगरपालिका-३ बाट र राजिवलाई काठमाडौं महानगरपालिका-२८ बाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।