काठमाडौं - महानगर यातायात प्रा.लि.ले काठमाडौंको चक्रपथमा थप १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सेवा सुरु भएका ३३ सिट क्षमताका बसमा उभिएर यात्रा गर्ने यात्रुसहित करिब ७० जनाले यात्रा गर्न सक्नेछन्।
चीनबाट आयात गरिएका बसमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा करिब २०० किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ। प्रति बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।
महानगर यातायातले गत वर्ष १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो। कम्पनीका सचिव केशव नेपालले विद्युतीय सवारी नै भविष्यको विकल्प भएको उल्लेख गर्दै सेवा थप विस्तार गरिने बताए। उनले विद्युत् खपतमा लाग्ने करमा छुटको व्यवस्था गर्न सरकारसँग आग्रह पनि गरेका छन्।