किएभ- रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जनाको मृत्यु भएको छ भने राजधानी किएभमा ६ जनाले ज्यान गुमाएका छन् । उद्धारकर्मीहरूले भग्नावशेषबाट एक तीन वर्षीया बालक, एक महिला र उनका आठ वर्षीय छोराको शव निकालिएको पुष्टि गरेका छन् । विस्फोटका कारण अपार्टमेन्ट भवनहरू ध्वस्त भएका छन् र धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।
आक्रमण बिहानसम्म जारी रहँदा विभिन्न सहरहरूमा लगातार विस्फोटका आवाज सुनिएको थियो । डिनिप्रो र आसपासका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् भने राजधानी किएभमा पनि व्यापक क्षति पुगेको छ ।युक्रेनी वायु सेनाका अनुसार रुसले कुल ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ४० वटा क्षेप्यास्त्र र ६०२ वटा ड्रोन नष्ट वा निष्क्रिय पारिएको दाबी गरिएको छ । आक्रमणको लक्ष्य किएभ, डिनिप्रो, पोल्टावा, खार्किभ र जापोरिझिया क्षेत्रहरू रहेका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पछिल्ला हप्ताहरूमा हवाई आक्रमण तीव्र बनाउँदै युक्रेनको हवाई सुरक्षा कमजोरीको फाइदा उठाउन खोजेको युक्रेनी पक्षको आरोप छ । युक्रेनले पश्चिमी सहयोग विशेषगरी अमेरिकी हतियार आपूर्तिको कमीका कारण ब्यालेस्टिक क्षेप्यास्त्रको जोखिम अझ बढेको जनाएको छ ।
राजधानी किएभका केही बासिन्दाहरूले रातभर बाथटब र कोठाको सुरक्षित भागमा आश्रय लिएर ज्यान जोगाउने प्रयास गरेका थिए । ३७ वर्षीया इरिना सालिकोभाले आफ्नी तीन वर्षीया छोरीसँग बाथटबमा रात बिताएको र घरका झ्याल फुटेर कोठामा ढुङ्गा प्रवेश गरेको बताए । उनले आफूहरू जिउँदो रहेकोमा भगवानप्रति कृतज्ञता व्यक्त गरे ।
किएभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार राजधानीमा मात्रै कम्तीमा ८१ जना घाइते भएका छन् । आक्रमणका कारण आवासीय भवन, ऊर्जा संरचना र अन्य नागरिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले थप अन्तर्राष्ट्रिय समर्थनको अपील गर्दै रुसको लगातार आक्रमणले युद्धलाई अझ खतरनाक मोडमा पुर्याएको बताए। उनका अनुसार यदि युक्रेन पर्याप्त सुरक्षा बिना रह्यो भने यस्ता आक्रमणहरू निरन्तर दोहोरिनेछन् ।
यसैबीच, रुसी रक्षा मन्त्रालयले भने किएभसहित विभिन्न क्षेत्रका सैन्य-औद्योगिक संरचनाहरूलाई लक्षित गरिएको दाबी गरेको छ । तर युक्रेनले आवासीय र नागरिक संरचना बढी प्रभावित भएको जनाएको छ । विश्लेषकहरूका अनुसार युद्ध चार वर्ष पुग्दै गर्दा दुबै पक्षबीच रणनीतिक दबाब बढ्दै गएको छ । युक्रेनले रुसका आपूर्ति लाइन र तेल संरचनामा समेत आक्रमण बढाइरहेको बताइएको छ भने मस्कोले आफ्नो हवाई अभियानलाई अझ तीव्र बनाएको देखिएको छ ।
यसैबीच शान्ति प्रयासहरू अझै निष्कर्षविहीन रहेका छन् । अमेरिकाको नेतृत्वमा भएका वार्ताहरू प्रभावकारी बन्न नसकेको र युद्धविरामबारे दुबै पक्षबीच गहिरो मतभेद कायमै रहेको बताइएको छ ।डिनिप्रोका मेयर बोरिस फिलाटोभले सहरमा मृतकहरूको सम्मानमा शोकको घोषणा गरेको छ ।
यद्यपि आक्रमणपछि पनि केही स्थानमा पुनः ड्रोन आक्रमण जारी रहेको र जनजीवन थप असुरक्षित बनेको जनाइएको छ ।रुसले युद्धलाई नयाँ चरणमा प्रवेश गरेको दाबी गर्दै युक्रेनमा आफ्नो सैन्य अभियान रोक्ने संकेत नदिएको देखिएको छ, जसले क्षेत्रीय तनावलाई अझ गहिरो बनाएको छ ।
–––
img
Powered By Orson Infotech