- प्रशासनको दोस्रो पत्रले हट्यो निर्वाचनको अन्योल
- विधानबमोजिम वर्तमान कार्यसमिति स्वतः विघटन भएकोले विशेष साधारणसभामा जान बाटो खुला
- निर्वाचन प्रक्रियामा बाधा नपुर्याउन निर्देशन
काठमाडौं- जिल्ला प्रशासन कार्यालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन गराउन निर्देशनसहित पुनः पत्राचार गरेको छ । सोमबार प्रशासनले संघको विधानमा भएको प्रावधान उल्लेख गर्दै विशेष साधारणसभा तथा निर्वाचनको कार्य अघि बढाउन भनेको हो ।
यसअघि प्रशासनले जेठ १३ गते पठाएको पत्रमा स्पष्ट भाषा प्रयोग नहुँदा चुनाव गराउन भनेर गठन भएको प्रबन्ध समिति र संघका अध्यक्ष भुवनसिंह गुरुङपक्षले आ-आफ्नै हिसाबले व्याख्या गर्दै आएको अवस्था थियो । प्रबन्ध समितिले यही जेठ २४ गतेका चुनाव निर्धारण गरेर प्रक्रिया अगाडि बढाउँदा पत्रले आफ्नो कार्यसमितिलाई निरन्तरता दिन भनेको गुरुङपक्षको दाबी थियो । चुनाव नजिकिँदै गर्दा पनि विवाद साम्य नभएपछि प्रबन्ध समितिले चुनावका लागि वातावरण बनाइदिन प्रशासनमा सोमबार पत्र बुझाएको थियो । समितिको पत्रलाई सम्बोधन गर्दै प्रशासनले चुनाव अघि बढाउन निर्देशन दिएको हो ।
प्रशासनले गत वैशाख १५ गते प्राप्त भएको राजीनामासम्बन्धी पत्र स्मरण गराउँदै वर्तमान कार्यसमिति विघटन भएको उल्लेख गरेको छ । ‘उक्त पत्रसाथ संलग्न राजीनामापत्रमा संघको विधानको दफा २ (९) मा भएको पदाधिकारीसम्बन्धी व्याख्याबमोजिम हाल त्यस संघमा भएका कार्यसमितिका पदाधिकारीहरुबाट राजीनामा पेस भएको एवं राजीनामा गर्ने पदाधिकारीको संख्या दुईतिहाइ हुन आएको देखिएको हुँदा संघको विधानको दफा २६ को ४ (ख) को व्यवस्थाबमोजिम संघको वर्तमान कार्यसमिति स्वतः विघटन भएको छ,’ प्रशासनले भनेको छ ।

संघको विधानको दफा २६ को ४ (ख) मा व्यवस्था भएको प्रबन्ध समिति गठन गर्ने कार्य सल्लाहकार समितिको निर्णयबाट भएकोमा उक्त कार्य पनि विधानअनुसार मिलेको पत्रमा उल्लेख गरिएको छ । प्रशासनले प्रबन्ध समितिलाई विशेष साधारणसभा आह्वान गरी संघको विधानको दफा २६ को ४ (ख) व्यवस्थालाई कार्यान्वयन गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ । यदि प्रक्रिया सुरु भइसकेको भए बाँकी कार्यलाई निरन्तरता दिन भनिएको छ । यो प्रक्रियामा बाधा नपुर्याउन र निर्देशनविपरीत कार्य गरे तत्काल जानकारी गराउन पनि अनुरोध गरेको छ । साथै, प्रबन्ध समितिले गर्ने काम तथा निर्णयहरु लिखितरुपमा अध्यावधिक गराउन निर्देशन दिइएको छ ।
अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख १४ मा कार्यसमितिका सात जना पदाधिकारीमध्ये पाँच जना र १० जना सदस्यमध्ये छ जनाले सामूहिक राजीनामा दिएका थिए । पछि राजीनामा दिएका दुई जना सदस्यले फिर्ता लिएपछि २१ सदस्यीय कार्यसमितिमा बहुमत आफ्नो पक्षमा रहेकाले वर्तमान कार्यसमिति विघटन हुन नसक्ने अध्यक्ष गुरुङ पक्षको दाबी थियो ।
यसअघिको पत्रअनुसार चुनाव हुन नसक्ने बताउँदै आए पनि अब भने प्रशासनले स्पष्ट निर्देशन दिएकाले आफ्नो कुनै टिप्पणी नभएको संघका निवर्तमान द्वितीय उपाध्यक्ष देवकुमार खोखालीले बताए । ‘प्रशासनको निर्णय आइसकेको छ । यसबारे टिप्पणी गर्नु गलत हुन्छ । अध्यक्षज्यू (आज) मंगलबार आइपुग्नुहुन्छ । अबको प्रक्रियाको विषयमा उहाँले बोल्नुहुन्छ,’ खोलालीले प्रभावलाई भने ।