काठमाडौं - संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको साझा माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा सुरु गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोगमा आयोजित कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी-शान्तिको धुन’को म्युजिक भिडियो सार्वजनिक गर्दै अभियानको शुभारम्भ गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा साहित्यकार एसपी कोइरालाले संगीत र साहित्य समाज रूपान्तरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै शान्ति, सद्भाव र मानवताको सन्देश फैलाउन कला क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले निजामती सेवाभित्र पनि थुप्रै प्रतिभाशाली साहित्यकार, कवि तथा गीतकारहरू रहेको उल्लेख गर्दै मनमाया पंगेनीलाई सिर्जनशील चेतनाको सशक्त प्रतिनिधि भएको बताए।
राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले ‘लैजाचरी–शान्तिको धुन’ समयसापेक्ष र सन्देशमूलक सिर्जना भएको उल्लेख गर्दै समाजमा सकारात्मक ऊर्जा, सहिष्णुता र सद्भाव फैलाउन यस्ता कृतिले महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखे। नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोलले विश्व शान्तिको सन्देश बोकेको सिर्जनामा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानमा निरन्तर सहभागी हुने प्रतिबद्धता जनाए।
गीतकी सर्जक मनमाया पंगेनी भट्टराईले कला र संगीतलाई शान्ति, सहअस्तित्व तथा मानवीय मूल्यको पक्षमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगीत केवल मनोरञ्जनको माध्यम नभई समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने शक्तिशाली साधन भएको बताए ।
कार्यक्रम संयोजक तथा एभरेस्ट ग्यालरीका संस्थापक अध्यक्ष सनम कठायतले दुई वर्षअघि सुरु गरिएको ‘दृश्यमा नेपाल’ अभियानको सफलतापछि त्यसैको निरन्तरताका रूपमा ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ सुरु गरिएको जानकारी दिए। संगीतलाई विश्व शान्ति र मानव एकताको सन्देशवाहक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियो।
गीतमा मनमाया पंगेनी भट्टराई र कमल सौरागको स्वर रहेको छ भने शब्द तथा संगीत पनि पंगेनीकै रहेको छ। कमल सौरागले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका हुन् । भिडियोमा कलाकार सनम कठायत, अस्मिता खनाल तथा बालकलाकार अनुश्री भट्टराई र श्रीनिधि कठायतले अभिनय गरेका छन्। कार्यक्रममा बालकलाकार श्रीनिधि कठायतले प्रस्तुत गरेको बालगीतले समारोहलाई थप आकर्षक बनाएको थियो।
पूर्व डीआईजी तथा साहित्यकार महेशसिंह कठायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशासन, साहित्य, संगीत तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहमा गीत तथा भिडियो निर्माणमा योगदान पुर्याउने कलाकार, प्राविधिक तथा सहयोगीहरूलाई कदरपत्र प्रदान गरिएको थियो।
एभरेस्ट ग्यालरीका निर्देशक तथा गीतकार डिबी खड्काले ‘लैजाचरी–शान्तिको धुन’ केवल एउटा गीत वा भिडियो मात्र नभई संगीतमार्फत विश्व शान्ति, मानवता, सहअस्तित्व र सकारात्मक चेतनाको सन्देश फैलाउने दीर्घकालीन अभियानको सुरुवात भएको बताए। सहभागीहरूले कला र संगीतलाई विश्व शान्तिको साझा भाषाका रूपमा स्थापित गर्ने प्रयासले नयाँ आयाम प्राप्त गरेको धारणा व्यक्त गरेका थिए।