काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको बैंकले जनाएको छ।
साधारण सभाले सञ्चालक समितिको प्रस्तावअनुसार सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि बैंकको हाल कायम चुक्ता साधारण शेयर पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई समेत अनुमोदन गरेको छ। साथै, सभाले अन्य विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ।
सभाबाट संस्थापक शेयरधनी समूहको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल तथा अनुपा प्रधान राजभण्डारी निर्विरोध निर्वाचित भएका छन्।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार साधारण सभा सफलतापूर्वक सम्पन्न भएको हो।