एजेन्सी - अमेरिकाका ट्रेजरी सेक्टर स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर र हस्ताक्षर अङ्कित २५० डलरको नयाँ नोट छाप्ने तयारी भइरहेको जनाएका छन् । अमेरिकाको स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवका अवसरमा यो विशेष नोट जारी गर्ने योजना बनाइएको हो।
यो नोट बजारमा ल्याउने वा नल्याउने भन्ने अन्तिम निर्णय भने अमेरिकी संसद्ले गर्नेछ। अमेरिकी कानुन अनुसार, कुनै पनि जीवित व्यक्तिको तस्बिर डलर वा सरकारी मुद्रामा छाप्न पाइँदैन। सन् १८६६ देखि लागू भएको यो कानुनी व्यवस्थाका कारण विगत १५० वर्षभन्दा बढी समयदेखि कुनै पनि जीवित अमेरिकी नागरिकको तस्बिर मुद्रामा छापिएको छैन।तर, वर्तमान र भूतपूर्व राष्ट्रपतिहरूलाई मुद्रामा स्थान दिन सकिने गरी कानुन संशोधन गर्न गत वर्ष संसद्मा एउटा विधेयक दर्ता गरिएको थियो।
बेसेन्टले संसद्मा दर्ता भएको सोही विधेयक पारित हुने अपेक्षासहित मन्त्रालयले नोटको डिजाइन पहिल्यै तयार पारेको ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा स्पष्ट पारे । ‘द वासिङ्टन पोस्ट’ का अनुसार ट्रम्पद्वारा नियुक्त गरिएका अमेरिकी कोषध्यक्ष ब्रान्डन बीचले सो नोटको डिजाइन र छपाइ प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन मन्त्रालयको ‘ब्युरो अफ एन्ग्रेभिङ एन्ड प्रिन्टिङ’ लाई दबाब दिइरहेका छन्। उक्त नोटको डिजाइन मकअपमा ‘अमेरिका २५० वार्षिकोत्सव’ लेखिएको छ।
सन् २०२५ मा पुनः ह्वाइट हाउस फर्किएयता राष्ट्रपति ट्रम्पले सरकारी निकायहरूमा आफ्नो व्यक्तिगत ब्रान्डिङ विस्तार गरिरहेको भन्दै विपक्षीहरूले यस कदमको आलोचना गरेका छन्। यसअघि अमेरिकी न्याय मन्त्रालय लगायतका कयौँ सङ्घीय भवनहरूमा ट्रम्पका ठूला तस्बिरहरू राखिएका छन् । राष्ट्रिय कला केन्द्रको नाममा पनि ट्रम्पको नाम थपिएको छ। अमेरिकी संसद्को तल्लो सदनमा रिपब्लिकनको बहुमत भए पनि सिनेटमा यो विधेयक पारित हुन ६० मत आवश्यक पर्ने भएकाले विपक्षी डेमोक्र्याटहरूले यसलाई रोक्ने प्रयास गर्ने अनुमान गरिएको छ।