काठमाडौं - शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७ (Redmi Pad 2 9.7) सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, शक्तिशाली अक्टा-कोर प्रोसेसर तथा प्रिमियम फिचरहरूसहित आएको यो ट्याबलेटले प्रयोगकर्तालाई उत्कृष्ट मल्टिमिडिया तथा स्मार्ट कनेक्टिभिटी अनुभव दिने कम्पनीले जनाएको छ।
ग्राफाइट ग्रे र सिल्भर रङमा उपलब्ध रेडमी प्याड २ ९.७" को मुख्य आकर्षण यसको ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ रहेको छ, जसले डिभाइसलाई मजबुत र टिकाउ बनाउनुका साथै प्रिमियम लुक पनि प्रदान गर्दछ। यसमा ९.७ इन्चको २K क्रिस्टल-क्लियर डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा शक्तिशाली अक्टा-कोर प्रोसेसर समावेश गरिएको छ। यी फिचरहरूले अल्ट्रा-स्मुथ भिजुअल, छिटो रेस्पोन्स तथा इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
रेडमी प्याड २ ९.७" मा ७,६०० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने ब्याट्री ब्याकअप दिन्छ। साथै, १८ वाट फास्ट चार्जिङ सपोर्टले छिटो चार्जिङ सुविधा उपलब्ध गराउँछ। फोटोग्राफीका लागि यसमा ८ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ। कम्पनीका अनुसार यी क्यामराले स्पष्ट तथा डिटेलयुक्त तस्वीर खिच्न सहयोग गर्छन्।
मल्टिमिडिया अनुभवलाई अझ प्रभावकारी बनाउन ट्याबलेटमा हाई-रिजोलुसन अडियो सपोर्ट गर्ने स्टेरियो स्पिकर तथा ३.५ एमएम हेडफोन ज्याक पनि समावेश गरिएको छ। Xiaomi HyperOS 3 मा सञ्चालन हुने यो ट्याबलेटले शाओमी इकोसिस्टमभित्र सहज र स्मार्ट कनेक्टिभिटी अनुभव प्रदान गर्ने बताइएको छ। ४०६ ग्राम तौल रहेको यो डिभाइस दैनिक प्रयोग तथा बोक्नका लागि सहज मानिएको छ।
सुरक्षाका लागि एआई फेस अनलकजस्ता एआई-आधारित फिचरहरू पनि उपलब्ध छन्। नेपाली बजारमा रेडमी प्याड २ ९.७" को ४GB र्याम र १२८GB स्टोरेज भेरियन्टको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।