पाटन- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राखेकी छन् ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्मेलन महिला पशुपालकहरुलाई अधिकारको सम्मान र पहिचान गर्ने सशक्त माध्यम बन्नेछ धारणा राखेकी हुन् ।
“यो सम्मेलन महिला पशुपालकहरुको आवाज विश्वले सुन्ने माध्यम बनेको छ, सम्मेलनमा हुने प्रत्येक छलफलहरुले दुर्गम र संवेदनशील भूभागहरुमा आफ्ना पशुहरुसँग जीवनयापन गरिरहेका महिला, पुरुष र बालबालिकाहरुको वास्तविकतालाई केन्द्रविन्दुमा राखेर छलफलहरुलाई अगाडि बढाइनुपर्छ, पशुपालन जीवनशैलीलाई केवल पशुपालनसंगमात्रै सीमित नभइकन खाद्य प्रणाली जैविक विविधता संरक्षण, पारिस्थितिक संरक्षण, सांस्कृतिक सम्पदा र स्थानीय अर्थतन्त्रसँग गहिरो सम्बन्ध जोडिएको छ, यी प्रणालीहरुलाई ध्यानमा दिएर नीति निर्माण तहमा महिलाहरुको आवाज पर्याप्त रुपमा प्रतिनिधित्व हुन सकिरहेको छैन”, मन्त्री चौधरीले भनिन् ।
चरण क्षेत्रसम्मका समस्या हाम्रो जीविकोपार्जन प्रणालीका साझा दायित्व हुन भन्दै मन्त्री चौधरीले अन्तरराष्ट्रिय चरनभूमि, उत्पादनशीलता र पशुपालनमा रहेका महिलाहरुको आवाज उठाउनुपर्छ भन्नेमा जोड दिइन्। “सम्मेलन समयसापेक्ष र अत्यन्तै महत्त्वपूर्ण रहेको छ, महिला पशुपालकहरुको समस्या सुनिनुपर्छ, आगामी पुस्ताको भविष्य सुरक्षित गरिनुपर्छ, यो ज्ञान सिक्ने र अनुभव आदानप्रदान गर्ने एउटा महत्त्वपूर्ण मञ्च पनि हो, हामीले उठाउने प्रत्येक आवाजलाई दुर्गम र पिछडिएको भूभागका महिला तथा पुरुषहरुलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ”, उनले भनिन् ।

सरकारले प्राथमिकताका साथ विभिन्न सरोकारमा काम गर्दा महिला पशुपालकहरुले उठाएका सरोकार र बिषयलाई सम्बोधन गर्न सकिन्छ भन्दै नेपालमा दुग्ध क्षेत्रको विकासमा कसरी काम गर्न सकिन्छ भनेर ध्यान दिइरहेका छौँ भनिन् । “नेपालको हिमाली क्षेत्रदेखि मध्यपहाडसम्ममा पशुपालक जीवनशैली प्रमुख जीविकोपार्जन र कतिपय संस्कृतिको अभिन्न हिस्सा बन्दै आएको छ, यहाँका पशुपालकहरुले याक, भेडा, च्याङ्ग्र्रा तथा अन्य पशुपालनमार्फत पुस्तौँदेखि समुदायको स्थानीय अर्थतन्त्र, खाद्य प्रणाली तथा संस्कृतिक परम्परालाई जोगाइराखेका छन् । यसमा विशेषगरी महिला पशुपालकहरुको महत्त्वपूर्ण योगदानले अपेक्षित उपलब्धी हासिल गर्न सकेको छैन, महिला पशुपालकहरुको समस्या र चुनौती विश्वभरका साझा समस्या हुन्”, उनले भनिन्।
उनले राष्ट्रिय योजना र विकासमा पशुपालक महिलाहरूका समस्याहरुलाई समेटेर सरकारले नीतिगत व्यवस्था गर्ने जानकारी गराइन् । उनले नेपालमा गठन भएको वर्तमान सरकार ऊर्जाशील युवा तथा महिलाहरुको अधिक सहभागिता रहेको जानकारी गराउँदै विकासका साथै दिगो भविष्य निर्माण गर्न नेतृत्व क्रियाशील रहेको जानकारी गराइन् ।
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको अन्तरराष्ट्रिय चरन क्षेत्र तथा पशुपालक वर्ष सन् २०२६ का सहअध्यक्ष डाक्टर मारिया फर्नान्डेज-गिमेनेजले यो सम्मेलन विश्वव्यापी नेटवर्क स्थापित गर्दै विश्वव्यापी घोषणापत्र जारी गर्न सफल हुने विश्वास व्यक्त गर्दै महिलाहरुको आवाजलाई बुलन्द बनाउन सफल हुने धारणा राखे । उनले यस सम्मेलनले विश्वभरिबाट जम्मा भएका महिला पशुपालकहरुलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास रहेको छ भन्दै यसले आफ्नो कथा र दृष्टिकोणलाई परिवर्तन गर्न योगदान पु¥याउने प्रष्ट पारे ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का आवासीय प्रतिनिधि डाक्टर केन शिमीजुले यो सम्मेलन ऐतिहासिक भएको बताउँदै विश्वव्यापी विविधतालाई एकताबद्ध गर्दै पशुपालक महिलाहरूको क्षमता विकास र नेतृत्व विकासमा सहयोग पुर्याउने विस्वास व्यक्त गरे । उनले यो सम्मेलनले सकरात्मक परिवर्तन ल्याउन सफल हुने विश्वास व्यक्त गर्दै लैङ्गिक उत्तरदायित्व नीतिगत व्यवस्थाका साथै सकरात्मक भविष्यको लागि कोसेढुङ्गा सावित हुने धारणा राखे।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले महिला पशुपालकहरुका अनुभव, सङ्घर्षको कथाहरुका आधारमा स्थानीयदेखि अन्तरराष्ट्रिय तहका निर्णय प्रक्रिया र नीतिहरूमा पशुपालक महिलाहरूको दृष्टिकोण र प्राथमिकता समावेश गराउन दबाब दिन सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुने छ । सन् २०१० मा भारतको ’मेरा’ क्षेत्रमा भएको विश्व सम्मेलनमा पशुपालक महिलाहरूले तयार पारेको दस्तावेजको समीक्षा गर्नु यो सम्मेलनको मुख्य विषय हो । यसले लैंगिक समानता, पशुपालकको अधिकार र वातावरण संरक्षणलाई जोड दिइएको छ ।