कोलम्बो- श्रीलंकाको केन्द्रीय बैंकले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर्थिक अस्थिरताको वीचमा मङ्गलबार तीन वर्ष भन्दा लामो समय पछि पहिलो पटक ब्याज दर समायोजन गरेको छ ।
द्वन्द्वले घरेलु मूल्य र स्थिरतामा नकारात्मक प्रभाव पारेको भन्दै बैंकले ब्याज दर १०० आधार अंकले बढाएर ८.७५ प्रतिशत बनाएको जनाएको छ । गत फेब्रुअरीको अन्त्यमा सुरु भएको मध्यपूर्व युद्धले तेल र ग्याँस लगायतका अत्यावश्यक सामान आयात गर्ने होर्मुज जलमार्गलाई प्रभावकारी रूपमा बन्द गरेको छ, जसले ऊर्जाको मूल्यसँगै विश्वव्यापी मुद्रास्फीति बढाएको छ ।
मध्यपूर्वमा बढेको तनावबाट उत्पन्न अनिश्चितताले विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुका साथै घरेलु अर्थतन्त्रलाई प्रतिकूल असर पारेको श्रीलंकाको केन्द्रीय बैङकले उल्लेख गरेको छ । श्रीलंकाको मुद्रास्फीति अप्रिलमा दोब्बर भन्दा बढीले बढेर ५.४ प्रतिशत पुगेको छ, जुन केन्द्रीय बैंकले सन् २०२६ लागि कायम गरेको ५ प्रतिशतको लक्ष्य भन्दा बढी हो ।
यसै बीच मुद्राको मुल्य सन् २०२६ को सुरु देखि अमेरिकी डलरको तुलनामा सात प्रतिशत भन्दा बढीले घटेको बैंकले जनाएको छ ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरे पछि श्रीलङा सरकारले ऊर्जाको मूल्य एक तिहाइ भन्दा बढीले बढाएको छ भने इन्धन र बिजुलीको शुल्कमा तीव्र वृद्धि गरेको छ ।
श्रीलंकाले यस हप्ताको अन्त्यमा आईएमएफबाट करिब ७० करोड डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ । जुन श्रीलंकामा उत्पन्न भएको आर्थिक संकटको अवस्थामा सन् २०२३ को सुरुमा सहमति भएको रकमको बाकी किस्ता हो । गत वर्षको अन्त्यमा आएको चक्रवातले श्रीलंकामा ६४३ जनाको मृत्यु भएको थियो भने १० प्रतिशत भन्दा बढी जनसङ्ख्या प्रभावित भएको थियो । विश्व बैंकका अनुसार आँधीले श्रलंकामा ४.१ अर्ब डलरको भौतिक क्षति पुर्याएको छ ।