- सभापति रवि लामिछानेले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेट गर्ने तयारी
- यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका लागि वातावरण बनाउन जेठ १८ गते नै परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली जाने तय भएकोमा उनी सहभागी हुने कार्यक्रम रद्द भएपछि भ्रमण पनि रद्द
- परराष्ट्रमन्त्रीको भ्रमण रद्द भएसँगै रास्वपा सभापति लामिछाने आफैं भारत जाँदै
- लामिछानेको भारत भ्रमणबारे भारतीय अखबारहरुमा चर्चा
सभापति रवि लामिछानेज्यू आफ्नै ढंगले भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको भ्रमणसँग प्रधानमन्त्रीज्यूको केही पनि सम्बन्ध छैन ।
सस्मित पोखरेल
प्रवक्ता, नेपाल सरकार
काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली जाने कार्यक्रम थियो । मुलुकको परराष्ट्र सम्बन्ध बिग्रँदै गएसँगै सत्तारुढ दलको मौनतामाथि प्रश्न उठिरहेको बेला मन्त्री खनाल सहभागी हुने कार्यक्रम रद्द भएपछि सभापति लामिछाने जेठ १८ गते नयाँ दिल्ली जान लागेका हुन् ।
लामिछाने भारत भ्रमण तय भएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पुष्टि गरे । ‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीज्यूको त्योसँग केही पनि सम्बन्ध छैन,’ सोमबार मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण र सभापति लामिछानेको भ्रमणबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफमा प्रवक्ता पोखरेलले भने ।
सभापति लामिछानेसँगै लामिछानेपत्नी नीकिता पौडेल लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा भारत जाने कार्यक्रम तय भएको बताइएको छ । सभापति लामिछानेले भारत भ्रमण क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेट गर्ने तयारी भइरहेको रास्वपा स्रोतले जनाएको छ । लामिछानेलाई जेठ १९ गते भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नवीनले भाजपा मुख्यालयमा स्वागत गर्ने छन् । सोही क्रममा दुई नेतृत्वबीच औपचारिक संवादसमेत हुने रास्वपाले जनाएको छ ।
यसअघि प्रधानमन्त्री शाहको भारत भ्रमण तय गर्ने उद्देश्यसहित मन्त्री खनाल जेठ १९ र २० गते भारतको नयाँ दिल्लीमा हुन लागेको वन्यजन्तुसम्बन्धी कार्यक्रममा भाग नयाँ दिल्ली जाने तयारी थियो । बाघ, चितुवालगायत वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय समूह ‘बिग क्याट अलायन्स’को आयोजनामा हुने भनिएको कार्यक्रम रद्द भएसँगै खनालको उक्त कार्यक्रम रद्द भयो । विश्वव्यापीरुपमा फैलिएको इबोला संक्रमणका कारण खनालको भ्रमण रद्द भएको थियो ।
नेपाल-भारतको सम्बन्ध चिसिँदै गएको अवस्थामा सत्तारुढ दलका प्रमुखले पहिलोपटक भारत भ्रमण गर्न लागेका हुन् । यसअघि एमाले- कांग्रेसको गठबन्धन सरकारमा परराष्ट्रमन्त्री रहेकी आरजु त्यतिबेलाका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण मिलाउन पटक-पटक नयाँदिल्ली पुगेकी थिइन् ।
तर ओलीलाई नयाँदिल्लीले स्वागत गर्ने कुनै ‘ग्रिन सिग्नल’ दिएन । भदौ २३ र २४ गते जेन-जी विद्रोह भएसँगै सुशीला कार्की नेतृत्वको सरकार बन्यो । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएपछि रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि भारतले विदेशसचिव विक्रम मिश्रीलाई नेपाल पठाउन खोजेको थियो । तर शाहले उनलाई नभेट्ने भनेपछि उक्त कार्यक्रम स्थगित भएको थियो । यसै विषयमा अघिल्लो सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा प्रश्नसमेत उठेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरलाईसमेत प्रधानमन्त्री शाहले नभेटेपछि पछिल्लो कूटनीति कमजोर हुँदै गएको बताइन्छ । नेपाल भारतबीच पछिल्लो समय सीमा विवाद पुनः चर्किएको छ । नेपाललाई नसोधी भारत र चीनले लिपुलेकबाट मानसरोबर आउजाउको बाटो प्रयोग गरेपछि यो विवाद सतहमा आएको हो । परराष्ट्रमन्त्री खनाल पुगे सीमा विवादको विषयमासमेत छलफल हुने बताइएको थियो ।
लामिछानेले यो भ्रमणमा भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग पनि भेट गर्ने बताएको छ । लामिछाने भारत भ्रमणमा जाने भएपछि भारतीय अखबार ‘नवभारत टाइम्स’ले यसलाई महŒवपूर्ण भनेको छ । ‘लामिछाने यतिबेला नेपालको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा कहलिएका छन् । देशमा उनको पार्टी रास्वपाको सरकार छ र वालेन्द्र शाह प्रधानमन्त्री छन् । उनको दिल्ली भ्रमण यसर्थ पनि महŒवपूर्ण छ कि काठमाडौंमा रास्वपाको सत्ता आएपछि र वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल र भारतकाबीच कुनै उच्चस्तरीय भ्रमण भएको छैन,’ अनलाइन संस्करणमा भनिएको छ ।
नवभारत टाइम्सले शाह प्रधानमन्त्री भएपछि भारत-नेपालको सम्बन्ध सुधार हुने संकेत देखिए पनि लिपुलेक सीमा विवाद सतहमा आएको उल्लेख गरेको छ । यतिमात्र हैन प्रधानमन्त्री शाह विदेशी कूटनीतिज्ञसँग भेट्नसमेत नचाहिरहेको उल्लेख गरिएको छ । यस्तो समयमा लामिछाने भारत आउन लागेकोले यसलाई महŒवका साथ हेरिएको उक्त अनलाइनमा उल्लेख छ ।