- जसरी पनि पठाउने वातावरण बनाउन माग
काठमाडौं- कोरियन भाषा परीक्षा उत्तीर्ण भएर पनि जान नपाएका युवाहरुले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय घेराउ गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीमा जान रोस्टरमा परेर पनि जान नपाएकाहरु सोमबारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन् ।
पीडित युवाहरुले कोरिया जान योग्य भइसकेकाहरुलाई जुनसुकै विकल्पबाट रोजगारीको अवसर प्रदान गर्नुपर्ने माग राखेका छन् । कोरिया सरकारले २०२६ का लागि ई-९ भिसामा ११ हजार कोटा छुट्याएको छ । उक्त कोटामा आफूहरुलाई समावेश गर्नुपर्ने अथवा ई-७ या ई-८ (सिजनल भिसा) मार्फत रोजगारीको अवसर प्रदान गर्न राज्यले पहल गर्नुपर्ने पीडित पक्षको माग छ ।
माइतीघर मण्डलमा धर्नामा उत्रिएका युवाहरु केही समय नाराबाजी गरेपछि रास्वपाको कार्यालयमा पुगेका थिए । आफूहरुले दुईतिहाइ मत दिएर जिताएको सरकारले समस्याको समाधान निकाल्नपर्ने उनीहरुको माग छ । युवाहरुले सभापति रवि लामिछानेसँग वार्ता गर्ने वातावरण मिलाउन माग गरेका थिए । विगतमा पनि यस विषयमा रास्वपा कार्यालयमा चारपटक ज्ञापत्रपत्र बुझाइसक्दा कुनै चासो नदेखाएको उनीहरुको आरोप छ । यद्यपि, सोमबार पार्टी कार्यालयमा भएको छलफलमा संसदीय समितिको बैठकमा पीडितपक्षको प्रतिनिधिसहित छलफल गर्ने कुरामा सहमति भएको छ ।
कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका युवाहरु आन्दोलनमा छन् । पानीजहाज निर्माणतर्फका बाँकी उम्मेदवारलाई पनि उत्पादनतर्फ नै गाभिएकाले उनीहरु पनि पीडित नै छन् । आन्दोलनकै लागि उनीहरु विभिन्न जिल्लाबाट काठमाडौं आएको जनाइएको छ ।
करिब नौ महिना अघिदेखि विभिन्न खाले आन्दोलनमार्फत सरकारलाई दबाब दिँदै आएका पीडित युवाहरु गत पुस १६ गतेबाट भने निरन्तर आन्दोलनमा थिए । प्रतिनिधिसभाको निर्वाचन र सरकारी टोली कोरिया नै गएर यस विषयमा छलफल गर्ने भएपछि आन्दोलन स्थगित भएको थियो । उक्त छलफलमा युवाहरुको मागप्रति कोरिया सरकार जानकार र सकारात्मक रहेको जनाइएको थियो । तर त्यसपछि पीडित पक्षलाई राहत मिल्नेगरी कुनै योजना बनेको छैन ।
सन् २०२४ मा कोरिया जान भनेर आवेदन दिएका एक लाख ८१ हजार २९९ जना युवामध्ये १८ हजार २८२ जना परीक्षामा उत्तीर्ण भएको युवा, श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक छ । जसमध्ये आठ हजार ९१२ जनाको रोस्टर अवधि २०२६ भित्र सकिन्छ । कम्पनीमा एकपटक पनि फाइल नपुगी रोस्टर अवधि सकिएको भन्दै कोरिया जाने सपना देखेका युवाहरु आक्रोशित छन् ।
के भन्छन् पीडित?
खोटाङका भूमिराज सैजुले आफ्नो रोस्टर अवधि २०२६ फेब्रुवरी ९ तारिखमा सकिएको बताए । कृषि तथा पशुपालनतर्फको परीक्षा दिएका उनी रोजगारदाताकोमा फाइल नै नपुगी रोस्टर अवधि सकिने हो भने मिहेनत गर्नुको कुनै औचित्य नभएको बताउँछन् । अन्य भिसामा भए पनि कोरिया जान दिनुपर्ने उनको माग छ ।
‘यो भाषा पढ्दा हाम्रो समय, उमेर, पैसा सबै गएको छ । अहिलेको दुईतिहाइ सरकारलाई बारम्बार माग राख्दा पनि सुनुवाइ भएको छ्रैन,’ उनले भने, ‘हाम्रो फाइल रोजगारदातासम्म एक चोटि पनि पुग्दैन भने हामी पढ्नुको के औचित्य ? यो सिस्टमले हामीलाई एकदमै घात गरेको छ । यत्रो लगानी भइसकेपछि जसरी पनि कोरिया लग्नप¥यो ।’
बाजुराका वीरेन्द्रसिंह मडाइले पनि तीनपटक भाषा परीक्षा उत्तीर्ण गरे । तर तीनै पटक एक चोटि पनि कम्पनीमा फाइल नपुगी समय सकिएको भन्दै उनले आक्रोश पोखे । ‘म भाषा पास भएको तेस्रो चोटि हो । २०१३, २०१९ र २०२३ गरी तीन चोटिमा एक चोटि पनि कम्पनीमा फाइल नपुगी सकियो,’ उनले भने, ‘२५ वर्षदेखि सुरु गरेको ३३ वर्ष पुग्दासम्म एक चोटि पनि कोरिया जान पाएन । यो आन्दोलनबाट कि वार कि पार हुन्छ ।’
आन्दोलनमा आएकी इटहरीको सबिता राउतले पनि आफूहरु अब जुनसुकै कदम चाल्न पनि तयार भएको बताइन् । ‘हामी सबै ढोका ढक्ढक्याउन गइसक्यौं । हामीलाई किन झुलाएर राखिरहेको ?,’ उनले भनिन्, ‘हुन्छ कि हुँदैन भनेको भए हामी त्यहीअनुसार विकल्प सोच्थ्यौं । फ्रस्ट्रेसनले अब हामी जे गर्न पनि तयार भएका छौं ।’