काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले यसम्बन्धी राष्ट्रपति कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको स्रोतले जनाएको हाे ।
हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने परम्परा छ भने प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको छ ।
तर प्रधानमन्त्री बनेपछि सार्वजनिक समारोहमा कमै देखिएका बालेनले यस वर्षको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषदबाटै राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्ने निर्णय भएको थियो । त्यसअनुसार मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्याएका हुन् ।
प्रधानमन्त्री कार्यालयले गणतन्त्रको प्रतीक राष्ट्रपति नै भएकाले गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन हुनु उपयुक्त हुने तर्क गर्दै अनुरोध गरेको बताइएको छ । यसअघि पनि काठमाडौं महानगरपालिकाको मेयर रहँदा बालेनले गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्ने गरेका थिए ।