काठमाडौं - न्याय क्षेत्रमा कार्यरत कानुन व्यवसायीमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ आवश्यक रहेको बताइएको छ ।विशेष अदालत बार एशोसियसनले आइतबार यहाँ आयोजना गरेको ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा न्याय क्षेत्रमा कार्यरत न्यायधीश तथा कानुन व्यवसायी तनावमुक्त हुनुपर्ने बताइएको हो ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश सुनीलकुमार पोखरेलले कानुन र संविधानका धारामा केन्द्रित हुने न्यायिक क्षेत्रमा पहिलोपटक मानसिक स्वास्थ्य र मनोसामाजिक पक्षकाबारेमा छलफल हुनु सकारात्मक कुरा भएको बताए । उनले न्यायिक निर्णय प्रक्रिया र कानुनी अभ्यासमा संलग्न व्यक्तिमा उच्च मानसिक तनाव हुने गरेको भन्दै यसको व्यवस्थापनका लागि सचेतना आवश्यक रहेको बताए ।
न्यायाधीश पोखरेलले ५१ प्रतिशत प्रमाण पुग्नेले मुद्दा जित्ने र ४९ प्रतिशत प्रमाण हुनेले मुद्दा हार्ने भएकाले हार्ने पक्षले सामाजिक सञ्जाल र अन्य माध्यमबाट गर्ने आलोचनाले न्यायाधीशमा ठूलो मानसिक दबाब सिर्जना हुने गरेको उल्लेख गरे । “जुन दिन तपाईंले ठूलो मुद्दाको फैसला गर्नुहुन्छ, त्यो दिन बेलुका सामाजिक सञ्जाल नहेर्नुस्, यसले मानसिक शान्ति दिन्छ”, उनले भने ।
उनले राष्ट्रिय न्यायिक प्रतिष्ठानले दिने तालिममा एक महिनाको अवधिमा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको एक छुट्टै कक्षा राख्न आवश्यक रहेको उल्लेख गरे । नेपाल बार एशोसियशनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले मानसिक तनावका कारण कतिपय न्याय क्षेत्रका मानिसले अकालमै आत्महत्या भएको भन्दै यसो हुन नदिन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले ठूला कानुन व्यवसायी अफिसले आफ्ना कर्मचारीलाई ‘मानसिक सु स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी तालिम प्रदान गर्नुपर्ने बताए । उनले मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी तालिमलाई नेपाल बारलेसमेत अगाडि बढाउने स्पष्ट पारे ।विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्टले पछिल्लो समय हरेक क्षेत्रमा मानसिक तनाव बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गरे।
विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवरले न्याय क्षेत्रमा हुने निरन्तरको कार्यबोझ र मानसिक चापकाबीच काम गर्ने कानुन व्यवसायीलाई राहत पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा कानुन व्यवसायीको मानसिक स्वास्थ्य परीक्षणका लागि ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरिने बताए ।
मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा ऋषभ कोइरालाले विभिन्न मुद्दाबारे चिन्ता लिँदा कानुन व्यवसायी मानसिक समस्यामा पर्ने गरेको भन्दै यसलाई कम गर्न योगा, ध्यान आवश्यक रहेको बताए । उनले नेपालमा १० जनामध्ये एक जना मानसिक समस्याको सिकार परेको बताए । अमेरिकामा २८ प्रतिशत अधिवक्तामा ‘डिप्रेसन’ र १९ प्रतिशत अधिवक्तामा ‘एन्जाइटी’को समस्या देखिने गरेको डा कोइरालाले बताए । नियमित शारीरिक गतिविधि, योगा, ध्यान, विपश्यना, सन्तुलित आहारविहार, सागसब्जी सेवन गरेमा मानसिक समस्यामा केही कमी आउने उनको भनाइ थियो ।