- संस्थापनपक्षको प्रस्टीकरणः बहुमत सुरक्षित छ, निर्वाचन घोषणा औचित्यहीन
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन नहुने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट कुनै निर्णय नआएपछि यही जेठ १४ गतेका लागि तोकिएको निर्वाचन अनिश्चित बनेको हो ।
अध्यक्ष भुवनसिं गुरुङसँग असन्तुष्टि जनाउँदै बहुमत पदाधिकारीहरुसहित केही कार्यसमिति सदस्यहरुले राजीनामा दिएपछि गुरुङ अल्पमतमा परेको दाबी गरिएको थियो । अध्यक्ष अल्पमतमा परे प्रबन्ध समिति बनाएर चुनावमा जानुपर्ने विधानको व्यवस्था देखाउँदै असन्तुष्ट पक्षले निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा सात सदस्यीय प्रबन्ध समिति गठन गरेको थियो । सोही समितिले जेठ १४ गतेका लागि संघको निर्वाचन घोषणा गरेको थियो ।
तर, अध्यक्ष गुरुङले भने उक्त निर्वाचन घोषणाको औचित्य नभएको बताउँदै आएका छन् । उनले आफूसँग बहुमत सुरक्षित रहेको दाबी गर्दै उक्त निर्वाचन घोषणालाई आफूविरुद्धको षड्यन्त्र बताउने गरेका छन् । संघको विवाद जिल्ला प्रशासनसम्म पुगे पनि त्यहाँबाट कुनै निर्देशन नआएको बताइएको छ । यद्यपि, आफ्नो विपक्षमा प्रशासनको निर्देशन आए अदालत जाने अध्यक्ष गुरुङपक्षको भनाइ छ ।
प्रशासनले जेठ ५ गते छलफलका लागि दुबै पक्षलाई बोलाएको थियो । सोही दिन अध्यक्ष गुरुङलाई पितृशोक परेकाले छलफल रोकिएको असन्तुष्ट पक्षले गठन गरेको प्रबन्ध समितिका सल्लाहकार धनलाल जैसीले बताए । आधिकारीक निकायबाट चुनाव गर्न अनुमति नआएकाले १४ गते चुनाव नहुने उनको भनाइ छ ।
‘१४ गते सम्भव भएन । चुनाव गर्नका लागि जिल्ला प्रशासनले पत्र दिनुपर्छ । चुनावकै मिति तय गर्न छलफलका लागि बोलाएको थियो,’ उनले भने, ‘त्यही दिन भुवनजीको बुबा बित्नुभएकाले मानवीय हिसाबले पनि त्यो दिन छलफलमा जान उपयुक्त भएन ।’
प्रशासनले अर्को छलफल यही हप्ताभित्र बोलाउन सक्ने जैसीको भनाइ छ । हालसम्म मान्दै आएको संस्थाको विधानलाई आधार मान्ने हो भने चुनाव गर्ने पक्षमै निर्णय आउने उनको दाबी छ । यता अध्यक्ष गुरुङपक्षले भने बहुमत संख्या आफ्नो पक्षमा भएकाले प्रशासनले चुनाव गर्ने पक्षमा निर्णय नगर्ने दाबी गर्दै आएको छ । चुनावको निर्णय गरिहाले पनि आफूहरु अदालती प्रक्रियामा जाने अध्यक्ष गुरुङ पक्षका सदस्य सुवर्ण लामाले बताए ।
गुरुङ नेतृत्वको कार्यसमितिका सात जना पदाधिकारीमध्ये पाँच जना र १० जना सदस्यमध्ये छ जनाले गत वैशाख १४ गते सामूहिक राजीनामा दिएका थिए । राजीनामा बुझाएकाहरुमा कार्यसमितिका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिंजाली छन् । त्यस्तै, सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले राजीनामापत्रमा हस्ताक्षर गरेका थिए ।
राजीनामा बुझाएका ११ जनामा हिमा गुरुङ र कृष्ण ढकालले फिर्ता लिएका छन् । महासचिव बस्नेतलाई भने अध्यक्ष गुरुङले गत वैशाख २७ गते छ महिनाका लागि निलम्बन गरेका छन् । सोधिएको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएकाले उनलाई निलम्बन गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
अध्यक्ष गुरुङले असन्तुष्ट पक्षकाहरुले दिएको राजीनामा अस्वीकृत गरेको बताएका छन् । उनले सबैलाई संघमा फर्किएर काम गर्न आग्रह गरेका छन् । तर, असन्तुष्टपक्ष भने राजीनामा फिर्ता लिन तयार भएका छैनन् । उनीहरुले नयाँ नेतृत्व चयन गर्नुपर्ने अडान नछाडेपछि संघको विवाद टुंगोमा पुग्न सकेको छैन ।