काठमाडौं। मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले तामाङ मातृभाषा शिक्षाका लागि तामाङको लिपि र मानकीकरण आजको प्रमुख आवश्यकता भएको बताएका छन्। शनिबार ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजको आयोजनामा काठमाडौंमा आयोजित 'स्थानीय तहको तामाङ मातृभाषा र संस्कृति विषयक' अन्तरक्रिया कार्यक्रम कार्यक्रममा अध्यक्ष थोकरले उक्त भनाई राखेका हुन्।
यसका लागि लिपि विवादको समाधान निकाल्ने आँट तामाङ घेदुङले गर्नुपर्ने उनको भनाई थियो। 'तामाङको राजनीतिक अधिकार, आर्थिक अधिकार र भाषागत अधिकारको लागि घेदुङ लड्नुपर्छ। लिपि विवाद पनि छिटो मिलाउनुपर्छ,' अध्यक्ष थोकरले भने।
-1779551652.jpeg)
कार्यक्रममा मातृभाषा अभियन्ताहरु अजितमान तामाङ, प्रतीक ङेसुर तामाङ र डा मुक्तसिंह थोकरले प्रस्तुति दिएका थिए। अहिलेको अवस्थामा लिपिकै कारण स्थानीय तहमा मातृभाषा कक्षा सहजतापूर्वक सञ्चालन हुने नसकेको उपस्थितहरुको भनाई थियो।
डा थोकरले अहिलेको अवस्थामा तामाङ भाषालाई तामयिग, साम्भोटा र देवनगरी कुनै लिपिले न्याय दिन नसक्ने बताए। 'यसका लागि साइन्टिफिक रुपमा हामी लाग्नुपर्छ,' डा थोकरले भने। लेखक तथा अनुसन्धानकर्ता रवीन्द्र तामाङले अहिलेको अवस्थामा विवाद नगरी समाधान निकालेमात्र भाषा जोगिने बताए।

समाजका अध्यक्ष सरोजमोहन लामाले भाषा जोगाउन अहिलेको टड्कारो आवश्यकता देखिएको उल्लेख गर्दै मेलुङ गाउँपालिकामा पनि मातृभाषा कार्यक्रम आवश्यक देखिएकोले अन्तरक्रियका कार्यक्रम गरिएको बताए। कार्यक्रममा मेलुङ गाउँपालिकाका शिक्षक, बुद्धिजिवीसमेत सहभागी थिए।