काठमाडौं- नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा प्रदान गर्न भनिएको हो ।
इजाजतप्राप्त संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपांगमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपांगमैत्री एटिएम राख्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । अपांगता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ । आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिलेसमेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ । त्यस्तै, क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ । साथै कार्यालय समयका अतिरिक्त समयमा काम गर्न कर्मचारी बाध्य नहुने र बाध्य पार्न नपाइनेसमेत निर्देशनमा उल्लेख छ ।