काठमाडाैं - विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा जेठ ८ गते सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उनीहरुलाई सम्मान गरेका हुन् ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हार्दिक बधाई दिँदै हिमालको चुचुरोमा राष्ट्र तथा संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए।
उनले उच्च मनोवल तथा आँट र साहस लिई विश्वको सर्वाेच्च शिखर सगरमाथामा राष्ट्र तथा संगठनको झण्डा फहराउदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवलमा समेत हौसला, प्रेरणा र उत्साह मिलेको चर्चा गर्दै यस्ता प्रकृतिका कार्यहरुलाई संगठनले अझै उच्च प्राथमिकतासाथ अगाडी बढाउने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरुले विश्वको सर्वोच्च शिखरको सफल आरोहणकासाथै हिमाली तथा उच्च पहाडी सीमावर्ती क्षेत्रमा सुरक्षा र आपतकालीन उद्धार क्षमतालाई सुदृढ बनाउन मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमा उच्च भू-भाग खोज तथा उद्धार लगायतका तालिमहरुको संचालनले हिमाली तथा उच्च पहाडी भू-भागहरुमा उद्धार तथा सीमा सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपाल थप सक्षम हुँदै गएको बताए ।
सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र संगठनको झण्डा सर्वाेच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिने सशस्त्र प्रहरी बल नेपाल लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरेका थिए ।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिईन् भने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिईन् ।
सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु पहिलो महिला आरोही हुन् । उनीहरुको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ ।