काठमाडौं - प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्राका लागि ठोस कदम नचाले संसद् चल्न गाह्रो हुने बताएका छन् ।बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।
सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाइ हुने बताएका छन्।
‘तत्काल रुपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति यो सरकारलाई म ध्यानाकर्षण गराउन चाहन्छु । अब सात दिन भित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने ?,’ उनले भने, ‘चाहे कानूनी होस्, चाहे कुन माध्यमबाट भएपनि सरकारले नियन्त्रण गरेन भने सबै सांसदहरूले यस बारेमा कुरा चलाउनु हुनेछ, संसद् चल्न गाह्रो हुनेछ ।’
बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो ? भनी प्रश्न पनि गरे ।‘यदि कोही मानिसले बदमासी गर्यो भने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले् सयौ मानिसहरूलाई बसाँई उठाईसक्यो । सयौँ मानिसहरूले दाल, भात, तरकारी खान पाएनन् । यसबारेमा सरकार किन सिरियस हुँदैन ?,’ उनले भने, ‘म भन्न चाहन्छु , यो सरकारले गर्ने थुप्रै कामहरूमा सबै भन्दा पहिला जनताको जीवनमा ठूलो समस्या भएको छ बाँदर । यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनजीवनको परिवर्तनमा ठूलो समस्या हुन्छ ।’