काठमाडौं- टोखा नगरपालिका-७ स्थित धापासी-ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर-टहरा हटाइएको छ ।सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर-टहरा हटाएको हो ।
यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर-टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर-टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत उक्त कदम चालिएको बताए । नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा कानुनी व्यवस्था पालना गर्न सबैलाई आग्रह गरेको छ ।