काठमाडौं - नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका बासिन्दाहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । स्थानीय बासिन्दा तथा सरोकारवालाले शान्तिपूर्ण धर्ना, आन्दोलन तथा खबरदारी कार्यक्रम आयोजना गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
वर्षौंदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रेको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिएका छन्। सडकको दयनीय अवस्थाका कारण जनजीवन कष्टकर बनेको भन्दै स्थानीय कृषक, व्यापारी, विद्यार्थी र युवाहरूले दबाबमूलक कार्यक्रम आयोजना गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले “हाम्रो लागि हामी आफैं लडौँ” भन्ने नारासहित सडक स्तरोन्नतिको माग गरेका थिए । उनीहरूले तीनपिप्ले–गल्छी सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेकाले स्थानीय नागरिकले सास्ती खेप्नुपरेको बताएका छन् । दर्शनकारीहरूले सडक कालोपत्रे नहुँदा यात्रु, विद्यार्थी तथा व्यवसायीहरू प्रभावित भएको उल्लेख गर्दै सम्बन्धित निकायलाई तत्काल निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
माइतीघर मण्डलामा आयोजित कार्यक्रममा विभिन्न जिल्लाबाट आएका नागरिकको सहभागिता रहेको थियो । प्रदर्शनकारीहरूले सडक निर्माणमा ढिलासुस्ती नगर्न सरकारलाई चेतावनी दिँदै माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।