एएफपी- युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक सहभागी गराउँदै तीन दिन लामो ठूलो स्तरको आणविक हतियार अभ्यास सुरु गरेको छ । किएभले ड्रोन आक्रमणहरू बढाइरहेका र राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा जानुअघि भएको यो अभ्यासलाई रणनीतिक रूपमा महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।
रूसी सेनाले मङ्गलबारदेखि मे १९ देखि २१ सम्म सञ्चालन हुने उक्त अभ्यासमा आक्रमणको सम्भावित खतरा सामना गर्ने परिस्थितिमा आणविक शक्तिको तयारी र प्रयोगसम्बन्धी परीक्षण गरिने जनाएको छ । रक्षा मन्त्रालयका अनुसार यो अभ्यासले देशको आणविक क्षमता र आपतकालीन अवस्थाको तयारीलाई सुदृढ बनाउने उद्देश्य राखेको छ । रूसले युक्रेनमा करिब चार वर्षभन्दा बढी समयदेखि जारी आक्रमणका क्रममा बारम्बार आणविक हतियार प्रयोगको चेतावनी दिँदै आएको छ । पछिल्लो अभ्यास पनि त्यही पृष्ठभूमिमा आएको हो, जहाँ मस्को र पश्चिमी मुलुकबीचको तनाव उच्च बनेको छ ।
रक्षा मन्त्रालयले जारी गरेको विवरणअनुसार यस अभ्यासमा ६५ हजारभन्दा बढी सैनिक सहभागी हुनेछन् । साथै सात हजार ८०० प्रकारका उपकरण तथा हतियार प्रणाली प्रयोग गरिनेछ, जसमा २०० भन्दा बढी मिसाइल प्रक्षेपण प्रणाली समावेश छन् । अभ्यासमा विमान, युद्धपोत, पनडुब्बी र आणविक पनडुब्बीसमेत सहभागी हुने जनाइएको छ । यस क्रममा ब्यालेस्टिक र क्रुज मिसाइलहरूको परीक्षण पनि गरिने बताइएको छ, जसले रूसको आणविक प्रतिरोध क्षमता र तयारी अवस्था मूल्याङ्कन गर्नेछ ।
मन्त्रालयका अनुसार यो अभ्यासमा बेलारुसमा तैनाथ आणविक हतियारसँग सम्बन्धित संयुक्त अभ्यास पनि समेटिएको छ । रूसले नाटोसँगको सीमामा रहेको आफ्नो सहयोगी बेलारुसमा पहिले नै आणविक क्षमतायुक्त ओरेसनिक मिसाइल प्रणाली तैनाथ गरिसकेको छ । यसैबीच, रुस–अमेरिका बीचको पछिल्लो प्रमुख आणविक हतियार नियन्त्रण सम्झौता समाप्त भएको केही महिनापछि यो अभ्यास गरिएको हो । उक्त सम्झौता समाप्त भएपछि विश्वका दुई ठूला आणविक शक्ति राष्ट्रबीचको औपचारिक नियन्त्रण संरचना कमजोर बनाएको मानिएको छ ।