एएफपी- कंगो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला संक्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । हालसम्म ८० भन्दा बढीको ज्यान लिइसकेको यो प्रकोप सीमापार फैलिन सक्ने जोखिम बढ्दै जाँदा विश्व स्वास्थ्य क्षेत्र पुनः उच्च सतर्कतामा पुगेको हो ।
अझ चिन्ताजनक पक्ष, फैलिएको ‘बुन्डिबुग्यो’ प्रकारको इबोलाविरुद्ध अहिलेसम्म कुनै प्रभावकारी खोप उपलब्ध छैन ।रुवान्डा समर्थित एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको पूर्वी कंगोको प्रमुख सहर गोमामा संक्रमण पुष्टि भएपछि अवस्था थप संवेदनशील बनेको छ । अत्यधिक जनघनत्व भएको गोमामा संक्रमण देखिएसँगै यो प्रकोप कंगोभित्र सीमित नरही क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संकटमा रूपान्तरण हुन सक्ने चेतावनी स्वास्थ्य निकायहरूले दिएका छन् ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ वटा शंकास्पद संक्रमणका घटना दर्ता भएका छन् । संक्रमणको वास्तविक दायरा अझै स्पष्ट नभएको भन्दै अधिकारीहरूले संक्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान गरेका छन् ।
कंगोको राष्ट्रिय जैविक अनुसन्धान संस्थानका निर्देशक प्राध्यापक जीन–ज्याक मुयेम्बेले एएफपीसँग कुरा गर्दै गोमामा एउटा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित महिला बुनियामा इबोलाबाट मृत्यु भएका पुरुषकी पत्नी हुन् । पतिमा संक्रमण पुष्टि भएपछि उनी गोमा पुगेकी थिइन्, जहाँ परीक्षणपछि उनमा पनि संक्रमण पुष्टि भएको हो ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले संक्रमण तीव्र रूपमा फैलिरहेको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यो अवस्थालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गरिएको बताए । यद्यपि उनले हालको अवस्थाले अझै पूर्ण ‘महामारी’ को स्तर भने नपुगेको स्पष्ट पारे ।
जेनेभास्थित विश्व स्वास्थ्य संगठनले अहिले आफ्नो दोस्रो उच्च सतर्कता लागू गरेको छ । संगठनका अनुसार संक्रमित व्यक्तिको वास्तविक सङ्ख्या र संक्रमण फैलिएको भौगोलिक क्षेत्रबारे अझै ठूलो अनिश्चितता कायम छ । चिकित्सा सहायता संस्था ‘डाक्टर्स विदआउट बोर्डर्स’ अर्थात् एमएसएफले संक्रमणको फैलावटलाई ‘अत्यन्त चिन्ताजनक’ भन्दै ठूलो स्तरको स्वास्थ्य प्रतिकार योजना अघि बढाइरहेको जनाएको छ ।
कंगोका स्वास्थ्यमन्त्री सामुएल–रोजर कम्बाका अनुसार यो प्रकोप निम्त्याउने बुन्डिबुग्यो प्रकारको इबोलामा मृत्युदर अत्यन्त उच्च छ, जुन ५० प्रतिशतसम्म पुग्न सक्छ । यो प्रकार पहिलो पटक सन् २००७ मा पहिचान गरिएको थियो । अधिकारीहरूका अनुसार यही संक्रमणले छिमेकी युगान्डामा पनि एक कंगोली नागरिकको ज्यान लिइसकेको छ । संक्रमण फैलिन सक्ने जोखिम बढेपछि युगान्डाले आइतबार वार्षिक शहीद दिवस तीर्थयात्रा स्थगित गर्ने घोषणा गरेको छ । उक्त धार्मिक कार्यक्रममा सामान्यतया पूर्वी कंगोबाट हजारौँ श्रद्धालु सहभागी हुने गर्दछन् ।
हाल उपलब्ध इबोला खोपहरू भने केवल ‘जाइर’ प्रकारको भाइरसविरुद्ध मात्र प्रभावकारी मानिन्छन् । सन् १९७६ मा पहिचान गरिएको उक्त प्रकारको इबोलामा मृत्युदर ६० देखि ९० प्रतिशतसम्म पुग्ने गरेको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पछिल्लो संक्रमण पहिलो पटक उत्तरपूर्वी कंगोको इटुरी प्रान्तमा पुष्टि भएको थियो । युगान्डा र दक्षिण सुडानको सीमासँग जोडिएको यो क्षेत्र अहिले संक्रमणको मुख्य केन्द्र बनेको छ ।
स्वास्थ्यमन्त्री कम्बाका अनुसार पहिलो संक्रमित एक नर्स थिइन्, जसले अप्रिल २४ मा इटुरी प्रान्तको राजधानी बुनियास्थित स्वास्थ्य केन्द्रमा ज्वरो, रक्तस्राव र बान्ताजस्ता लक्षणसहित उपचारका लागि सम्पर्क गरेकी थिइन् । पछि परीक्षण गर्दा उनमा इबोला संक्रमण पुष्टि भएको थियो ।
इबोलाका मुख्य लक्षणमा उच्च ज्वरो, शरीरभित्र तथा बाहिरी रक्तस्राव, कमजोरी, वान्ता र अंग विफलता समावेश छन् । संक्रमित व्यक्ति लक्षण देखिएपछि मात्र अरूमा संक्रमण फैलाउन सक्षम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । भाइरस संक्रमित व्यक्तिको रगत वा शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ । यसको इन्क्युबेसन अवधि २१ दिनसम्म हुन सक्छ ।
फ्रान्सभन्दा चार गुणा ठूलो भूभागमा फैलिएको कंगोमा कमजोर यातायात र सञ्चार पूर्वाधारका कारण स्वास्थ्य सामग्री तथा चिकित्सक परिचालन ठूलो चुनौती बनेको छ । दुर्गम क्षेत्रमा संक्रमण केन्द्रित भएकाले धेरै नमूनाको परीक्षणसमेत हुन सकेको छैन ।
तर विश्व स्वास्थ्य संगठनले प्रारम्भिक परीक्षणमा उच्च दरमा संक्रमण पुष्टि भइरहेको, दुई देशमा संक्रमण फैलिसकेको तथा शंकास्पद घटनाहरू निरन्तर बढिरहेकाले अहिले देखिएकोभन्दा धेरै ठूलो प्रकोप हुन सक्ने चेतावनी दिएको छ । संगठनले यसबाट स्थानीय मात्र नभई, क्षेत्रीय र विश्वव्यापी जोखिम उत्पन्न हुन सक्ने जनाएको छ ।
कंगोमा यसअघि पनि इबोलाका धेरै प्रकोप देखिएका छन् । यो देशमा पुष्टि भएको यो १७औँ इबोला प्रकोप हो । गत वर्ष अगस्टमा देखिएको अर्को प्रकोप डिसेम्बरमा नियन्त्रणमा आएको घोषणा गरिए पनि त्यस क्रममा कम्तीमा ३४ जनाको मृत्यु भएको थियो । पछिल्ला ५० वर्षमा इबोलाले अफ्रिकामा करिब १५ हजार मानिसको ज्यान लिइसकेको छ । सन् २०१८ देखि २०२० सम्म कंगोमा फैलिएको सबैभन्दा घातक प्रकोपमा मात्रै झण्डै दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।
चमेरोबाट उत्पत्ति भएको विश्वास गरिने इबोलाले शरीरमा गम्भीर रक्तस्राव, अंग विफलता तथा तीव्र शारीरिक क्षति पुर्याउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न प्रकोपमा यसको मृत्युदर २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म पुगेको देखिएको छ ।