काठमाडौं - नेपालमा विद्युतीय सवारी साधन (ईभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यमबाट भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन(Nepal Automobile Importers and Manufacturers Association )नाईमाले ध्यानाकर्षण भएको जनाएको हाे ।
संस्थाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ईभी मोटर क्षमतासम्बन्धी परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनका विषयमा स्पष्ट, व्यवहारिक र एकरूप व्यवस्था आवश्यक रहेको धारणा राखेको हो।नाइमा नेपालले यसअघि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग भएका छलफलमा पनि उक्त विषय उठाउँदै आएको जनाएको छ।
विज्ञप्तिमा नेपालमा आयात हुने विद्युतीय सवारी साधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएको उल्लेख गरिएको छ। एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामक संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास भएको पनि संस्थाको भनाइ छ।
संस्थाले वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मात्र मोटर क्षमतासम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने जनाएको छ।हाल नेपालमा ईभी सवारीसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआइसकेको भन्दै यही अस्पष्टताले विभिन्न तहमा भ्रम र फरक–फरक व्याख्या उत्पन्न भइरहेको नाइमाको दाबी छ।
नाइमाले विद्युतीय सवारी साधनको प्राविधिक मूल्यांकन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्नेमा जोड दिएको छ। साथै, सम्बन्धित सरकारी निकायबीच एकरूप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
विज्ञप्तिमा विद्युतीय सवारी साधनलाई नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गरिएको छ। ईभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ ऊर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा ऊर्जा र यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याउने नाइमाको भनाइ छ।
नाइमाले विद्युतीय सवारी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयहरूलाई पर्याप्त अध्ययन, प्रमाणित तथ्य तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्रै विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ। अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा ईभी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने चेतावनी पनि संस्थाले दिएको छ।
साथै, सरकार तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता नाइमाले व्यक्त गरेको छ।