राष्ट्रसंघ- सोमालियामा गम्भीर खाद्य संकट गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न मानवीय एजेन्सीहरूले तत्काल सहायता विस्तार गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । खाद्य तथा कृषि सङ्गठन, मानवीय सहायता समन्वय कार्यालय, बाल कोष तथा विश्व खाद्य कार्यक्रमले सार्वजनिक गरेको हाे ।
पछिल्लो विवरणअनुसार सोमालियामा अहिले करिब ६० लाख मानिस गम्भीर खाद्य असुरक्षाबाट प्रभावित छन्, जुन देशको कुल जनसङ्ख्याको झण्डै एक-तिहाइ हो । तीमध्ये १९ लाख बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने करिब ४ लाख ९३ हजार बालबालिका अत्यन्त गम्भीर कुपोषणको अवस्थामा पुगेका छन् ।
लामो समयदेखिको खडेरी, आन्तरिक असुरक्षा, अत्यन्त सीमित मानवीय सहायता तथा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अप्रत्यक्ष असरका कारण अवस्था झन् खराब बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । विशेषगरी दक्षिणपश्चिमी राज्यको बुरहाकाबा क्षेत्रमा सन् २०२२ पछिकै पहिलोपटक अनिकालको जोखिम देखिएको चेतावनी दिइएको छ ।
सन् २०२२ मा ठूलो मात्रामा अन्तर्राष्ट्रिय मानवीय सहायता परिचालन गरिएकाले सम्भावित अनिकाल टार्न सफल भएको स्मरण गराउँदै संयुक्त राष्ट्रसंघले अहिले पनि तत्काल र व्यापक सहयोग आवश्यक रहेको जनाएको छ । हाल जोखिमयुक्त क्षेत्रमा सहायता विस्तार गर्ने प्रयास भइरहे पनि स्रोत र बजेट अभावका कारण देशभरका करिब ९० प्रतिशत प्रभावित मानिसले पर्याप्त सहयोग पाउन नसकेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघका मानवीय संयोजक जर्ज कन्वेले आगामी केही हप्ता अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै समयमै प्रभावकारी सहायता नपुगे सोमालियामा ठूलो मानवीय विपत्ति आउन सक्ने चेतावनी दिएका छन् ।