लन्डन - बेलायतमा सत्तारूढ ल्यबाेर पार्टि (Labour Party) भित्रको आन्तरिक असन्तुष्टि चर्किँदै जाँदा स्वास्थ्य मन्त्री वेस स्ट्रिटङ (Wes Streeting)ले सरकारबाट राजीनामा दिएका छन् । उनको राजीनामासँगै प्रधानमन्त्री केइर स्टार्मर(Keir Starmer)माथिको राजनीतिक दबाब थप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्टार्मर प्रधानमन्त्री बनेको दुई वर्ष नपुग्दै उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेको विश्लेषण भइरहेको छ । बिहीबार माइक्रो ब्लगिङ प्लेटफर्म एक्समार्फत वक्तव्य जारी गर्दै स्ट्रिटिङले स्टार्मरको नेतृत्वप्रति आफूलाई अब विश्वास नरहेको बताएका हुन् । ४३ वर्षीय स्ट्रिटिङले पछिल्लो स्थानीय निर्वाचनमा लेबर पार्टीले इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सभर व्यहोरेको हारलाई पार्टीको घट्दो लोकप्रियतासँग जोड्दै नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन् ।
उनले आफ्नो वक्तव्यमा आगामी आम निर्वाचनमा स्टार्मरले पार्टीको नेतृत्व नगर्ने स्पष्ट भइसकेको दाबी गरेका छन् । उनले सांसद तथा ट्रेड युनियनहरू अब व्यक्तित्वभन्दा विचारको प्रतिस्पर्धा चाहिरहेको उल्लेख गर्दै पार्टीभित्र नयाँ नेतृत्वका सम्भावित उम्मेदवारलाई अघि सार्न आह्वान गरेका छन् ।
स्ट्रिटिङको राजीनामापछि केही घण्टामै लेबर सांसद Josh Simons ले पनि संसदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनको कदमलाई एन्डि बर्नहाम(Andy Burnham)लाई पुनः संसदमा फर्काएर स्टार्मरलाई चुनौती दिने रणनीतिका रूपमा हेरिएको छ ।
यद्यपि स्ट्रिटिङले औपचारिक नेतृत्व प्रतिस्पर्धा सुरु गर्न आवश्यक ८१ सांसदको समर्थन जुटाइसकेको दाबी भने गरेका छैनन् । तर उनको निर्णयले स्टार्मर नेतृत्वको सरकारभित्रको असन्तुष्टि सतहमै आएको विश्लेषण गरिएको छ । हालसम्म चार जना कनिष्ठ मन्त्रीहरूले सरकार छोडिसकेका छन्, जसमा जेस फिलिप (Jess Phillips) पनि समावेश छन् । त्यस्तै, ८० भन्दा बढी सांसदहरूले स्टार्मरलाई राजीनामा दिन वा पदत्यागको स्पष्ट योजना सार्वजनिक गर्न आग्रह गरिसकेका छन् ।