बेइजिङ- पश्चिम एसियामा बढ्दो तनावका बीच चीनले इरान र अमेरिकाबीच वार्ता सहज बनाउन पाकिस्तानलाई आफ्नो कूटनीतिक भूमिका अझ सक्रिय बनाउन आग्रह गरेको छ । विशेषगरी हर्मुज जलघाँटीको स्थिरता र अस्थायी युद्धविरामलाई दीर्घकालीन संवादतर्फ लैजान चीनले इस्लामाबादको मध्यस्थता प्रयासलाई महत्त्वपूर्ण रूपमा हेरेको सङ्केत दिएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारसँग टेलिफोन संवाद गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् । वाङ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत हुन् ।
फोन वार्ताका क्रममा इशाक दारले तेहरान र वासिङ्टनबीच संवादको वातावरण बनाउन पाकिस्तानले पछिल्लो समय गरेका कूटनीतिक पहलका बारेमा जानकारी गराएका थिए । उनले क्षेत्रीय स्थिरता कायम गर्न चीनसँग समन्वय थप सुदृढ बनाउन पाकिस्तान इच्छुक रहेको उल्लेख गर्दै बेइजिङको समर्थनप्रति आभार व्यक्त गरेका थिए ।
सिन्ह्वाका अनुसार वाङ यीले इरान–अमेरिका वार्ता अगाडि बढाउन र अस्थायी युद्धविरामलाई विस्तार गर्न पाकिस्तानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनले ‘क्षेत्रीय शान्ति पुनःस्थापना अन्तर्राष्ट्रिय समुदायको साझा चाहना भएको’ उल्लेख गर्दै पाकिस्तानले विश्वास निर्माणको वातावरण कायम राख्न निरन्तर योगदान दिने अपेक्षा पनि व्यक्त गरे ।
वाङले चीनले पाकिस्तानको मध्यस्थता प्रयासलाई निरन्तर समर्थन गर्ने र आवश्यक कूटनीतिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाे सिन्ह्वाले जनाएको छ । तर यहीबीच पाकिस्तानको भूमिकालाई लिएर अमेरिकामा भने प्रश्न उठ्न थालेका छन् । अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले मङ्गलबार पाकिस्तानमाथि अविश्वास व्यक्त गर्दै इरानसँगको तनाव समाधानका लागि अमेरिकाले वैकल्पिक मध्यस्थकर्ता खोज्नुपर्ने टिप्पणी गरे ।
सिनेटर ग्राहमले पाकिस्तानले इरानी सैन्य विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा पार्क गर्न अनुमति दिएको आरोप लगाउँदै यस्तो कदमले इस्लामाबादको तटस्थ भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको बताए । “यदि पाकिस्तानले वास्तवमै इरानी सैन्य सम्पत्तिको सुरक्षा गर्न आफ्ना आधार क्षेत्रमा इरानी विमान राखेको हो भने, त्यसले हामीलाई मध्यस्थताका लागि अर्को पक्ष खोज्नुपर्ने सन्देश दिन्छ”, उनले भने ।
उनले अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँग सिनेट एप्रोप्रिएसन समितिको सुनुवाइका क्रममा पाकिस्तानको तटस्थताबारे प्रश्न उठाएका थिए । सुनुवाइमा पाकिस्तानस्थित सैन्य अड्डाहरूमा इरानी विमानको उपस्थितिले इस्लामाबाद निष्पक्ष मध्यस्थकर्ता रहन सक्छ कि सक्दैन भन्ने विषयमा चर्चा केन्द्रित भएको थियो । रक्षामन्त्री हेग्सेथले प्रत्यक्ष राजनीतिक विवादमा प्रवेश गर्न नचाहे पनि सिनेटर ग्राहमले पाकिस्तानको भूमिकाप्रति शङ्का व्यक्त गरेका थिए ।
यसअघि पाकिस्तानले पश्चिम एसियामा अमेरिका र इरानबीच बढेको तनावका क्रममा इरानी सैन्य विमानलाई आफ्नो रणनीतिक हवाई अड्डा प्रयोग गर्न अनुमति दिएको विषयमा स्पष्टीकरण दिएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले नूर खान एयरबेसमा इरानी विमान रहेको भन्ने समाचारलाई ‘भ्रामक’ भन्दै अस्वीकार गर्ने प्रयास गरे पनि जारी वक्तव्यले इरानी विमान पाकिस्तानमा अवतरण गरेको तथ्यलाई अप्रत्यक्ष रूपमा स्वीकार गरेको विश्लेषण गरिएको छ ।
विदेश मन्त्रालयले ‘पाकिस्तानमा रहेको इरानी विमान युद्धविराम अवधिमा आएको र त्यसको कुनै सैन्य संरक्षण वा आकस्मिक व्यवस्थासँग सम्बन्ध नरहेको’ जनाएको थियो । अमेरिकी सञ्चारमाध्यम सिबिएस न्युजले पनि पाकिस्तानले युद्धका क्रममा इरानी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएको दाबी गर्दै त्यसले इस्लामाबादको मध्यस्थता भूमिकामाथि थप प्रश्न उठाएको जनाएको छ ।
सिबिएस न्युजले दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानले एकातिर इरानलाई सहयोग गरेको र अर्कोतर्फ अमेरिकासँग पनि सम्बन्ध सन्तुलित राख्ने प्रयास गरेको उल्लेख गरेको छ । पश्चिम एसियामा बढ्दो शक्ति प्रतिस्पर्धा र कूटनीतिक तनावबीच चीनले पाकिस्तानलाई अघि सारेर संवादको वातावरण जोगाउने प्रयास गरिरहेको देखिए पनि इस्लामाबादको निष्पक्षतामाथि उठेका प्रश्नले आगामी वार्ताको दिशा थप जटिल बन्न सक्ने संकेत देखिएको छ ।