बलेवा- आधुनिकताले कयौँ परम्परा र संस्कृतिको लोप भइरहेका बेला बागलुङमा भने ‘सती घाटु’ नाच संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वते राजा पर्शुराम र उनकी रानीको जीवनकथामा आधारित गीतिनाटक ‘सती घाटु’ नाच बागलुङको बडिगाड र गलकोटमा संरक्षण गर्न थालिएको हो ।
‘सती घाटु’ नाचमा युद्धमा राजाले वीरगति प्राप्त गरेपछि रानीहरूले गर्ने विलाप, कारुणिक गीत र नृत्यमार्फत व्यक्त गरिन्छ । नृत्यका क्रममा गीतकै लयमा घाटुनीहरू लठ्ठिएर नाच्ने, आँखा बन्द गर्ने र ढल्ने गर्छन् । जसलाई पुनः गीतबाटै उठाइन्छ । बिहानदेखि सुरु हुने यो नृत्य मध्यरातपछि मात्र समापन हुन्छ ।
निकै लामो समय, धेरै कलाकार र विषयवस्तुसमेत कठिन र परम्परागत भएकाले नयाँ पुस्तामा सहजै हस्तान्तरण हुन नसकेको यो नाच सांस्कृतिक सम्पत्तिका रुपमा संरक्षण थालिएको हो । पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको सिसाखानी र गलकोट नगरपालिकाको पाण्डखानी र रिघामा झण्डै ३०० वर्ष पुरानो ‘सती घाटु’ नाच प्रचलनमा छ ।
बडिगाड गाउँपालिका-३ का वडाध्यक्ष खड्कबहादुर पुनका अनुसार, ‘सती घाटु’को गीत लेखन, पुस्तान्तरण तथा विधिबारे लिखित दस्तावेज तयार गर्ने योजना वडा कार्यालयले बनाएको छ । घाटुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार भइरहेको उनको भनाइ छ । यस्तै गलकोट नगरपालिका-१० पाण्डवखानीमा पनि ‘सती घाटु’को दस्तावेजीकरण गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले तीन वर्षअघि अडियो रेकर्डका लागि सहजीकरण गरेको घाटु संयोजन गर्नुहुने स्थानीय गिरीप्रसाद थापाले बताए । “तीन दिन लगाएर हामीले घाटु गीतको अडियो तयार गरेका छौँ, ‘सती घाटु’ संरक्षणको लागि अन्य काम पनि गर्ने योजना छ”, थापाले भने।
विगत १५ वर्षदेखि घाटु गाउन थाल्नुभएका गलकोट नगरपालिका-११ रिघाका नरबहादुर दर्जी मेला महोत्सवको बेला मात्र घाटु खोजिनुले संरक्षण नहुने तर्क गरे । घाटुकै लागि कुनै ठोस काम गर्न नसके पनि हरेक वर्ष घाटु प्रदर्शनका लागि वडाले सहजीकरण गरिरहेको रिघाका वडाध्यक्ष डम्बरबहादुर श्रीस तर्क गरे ।
सती घाटु नाचको सुरुआत चैत्राष्टमीदेखि सुरु हुन्छ र दशरा तिथिमा गएर समाप्त हुन्छ । यद्यपि, यो तिथि असार महिनामा पर्ने र त्यति बेलासम्म गाउँघरमा कामको माचो सुरु भइसक्ने भएकाले आजकाल जेठको २० मा घाटु नाचको विधिवत् समापन गरिन्छ । बागलुङमा घाटु नाचको लिखित दस्तावेज नभए पनि अन्यत्रबाट साविकको सिसाखानी गाविसको सिसाखानी र पाण्डवखानी गाविसकोे तामाखानीमा काम गर्न आएका कामदारले बडिगाड र गलकोटमा ‘सती घाटु’ नाच प्रचलन ल्याएको स्थानीय अगुवा बताए । घाटु गुरु कुलबहादुर भुजेलका अनुसार, ‘सती घाटु’ नाचको इतिहास हाल पाँचौँ पुस्तासम्म मात्रै थाहा पाउन सकिन्छ ।
“विसं १९७८ यताको पुस्ताले घाटु नाचेको जानकारी छ, त्यसअघिको कुनै जानकारी छैन”, घाटुगुरु भुजेलले भने । बडिगाड गाउँपालिका-४ जलजलाको झुलेडाँडाबाट सिसाखानीमा नाच्न थालिएको ‘सती घाटु’ अहिले जलजलाको झुलेडाँडामा भने लोप भइसकेको भुजेलले बताए । झुलेडाँडाका घाटुगुरु सिसाखानी बसाई सरेपछि सिसाखानीमा ‘सती घाटु’ले निरन्तरता पाएको बताइन्छ ।