काठमाडौं- काठमाडाैंलगायत देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।
प्रहरी समाचार कक्षका अनुसार काठमाडाैं महानगरपालिका-३२ कोटेश्वर जडीबुटीस्थित सडकमा बाप्र०२-०६० प १२७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-९ का ४३ वर्षीय भुवन गुरुङको मृत्यु भएको छ सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
त्यसैगरी, महोत्तरीको गौशाला नगरपालिका-४ ठाकुरपोखरी नजिक सडकमा बीआर३०यु ४४९९ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ नवराजपुर बस्ने २५ वर्षीय सुवेशकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गौशालामा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका-१७ विवेक पट्रोलपम्पस्थित सडकमा बागमती प्रदेश०१-००६ख ६६४९ नम्बरको बसले प्रदेश२-०१-००१त १४६७ नम्बरको ट्याक्टरलाई आज बिहान ठक्कर दिँदा ट्याक्टरमा सवार सप्तरी कन्चनरूप नगरपालिका-५ का १८ वर्षीय उत्तम सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सान्विसिटी अस्पताल लविपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, रौतहट जिल्ला परोहा नगरपालिका-६ कोप्वास्थित सडकमा बीआर०५एएच २८७७ नम्बरको मोटरसाइकल र बा८१प ६४४८ नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किएर भएको दुर्घटनामा बीआर०५एएच २८७७ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका-३ तेजापाकड बस्ने २२ वर्षीय सुरेन्द्र पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा८१प ६४४८ नम्बरको मोटरसाइकलमा सवारमध्ये एक जनाको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छभने एक जनालाई थप उपचारका लागि चितवनतर्फ रिफर गरिएको छ ।
यसैगरी, रौतहटको कटहरिया नगरपालिका-४ बहादुरपुर टोलस्थित सडकमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२-०३-११प ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर फतुवा विजयपुर नगरपालिका-५ गमहरियाकी ३८ वर्षीया रिङ्कुदेवी ठाकुरको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।