काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको जवाफलाई ‘अस्वीकार्य’ भनेपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ ।स्ट्रेट अफ होर्मुज प्रायः बन्द रहेको र आपूर्तिमा समस्या आउन सक्ने डरले बजार तातिएपछि तेलको मूल्य बढेको हो ।
सोमबार बिहान ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५.४४ डलर पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो । त्यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) पनि ४.५९ प्रतिशतले बढेर ९९.८० डलर प्रति ब्यारेल पुगेको छ ।
पछिल्लो १० हप्तादेखि जारी द्वन्द्व अन्त्य हुने र स्ट्रेट अफ होर्मुजमार्फत तेलको ढुवानी सहज हुने आशामा अघिल्लो हप्ता तेलको मूल्यमा ६ प्रतिशतको गिरावट आएको थियो । फिलिप नोभाकी वरिष्ठ बजार विश्लेषक प्रियंका सचदेवाका अनुसार तेल बजार हाल भू–राजनीतिक घटनाक्रमको ‘हेडलाइन मेसिन’ जस्तो बनेको छ, जहाँ वासिङ्टन र तेहरानबाट आउने हरेक टिप्पणीले मूल्यमा ठुलो फेरबदल ल्याइरहेको छ ।
अब बजारको ध्यान राष्ट्रपति ट्रम्पको बुधबार हुने बेइजिङ भ्रमणतर्फ सोझिएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग इरानको विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । बेइजिङले इरानमाथि आफ्नो प्रभाव प्रयोग गरेर युद्धविराम र होर्मुजको अवरोध हटाउन पहल गर्नेमा लगानीकर्ताहरू आशावादी देखिएका छन् ।
साउदी अरामकोका सीईओ अमीन नासेरका अनुसार विगत दुई महिनामा विश्वले करिब १ अर्ब ब्यारेल तेल गुमाइसकेको छ, जसका कारण आपूर्ति सुरु भए पनि बजार स्थिर हुन समय लाग्नेछ ।