बेइजिङ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुग्ने भएका छन् । इरान युद्धसहित विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गर्न ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
ह्वाइट हाउसकी प्रमुख उप-प्रेस सचिव अन्ना केलीका अनुसार बिहीबार बिहान औपचारिक स्वागत तथा मुख्य बैठक आयोजना गरिनेछ भने ट्रम्पको भ्रमण शुक्रबार सम्पन्न हुनेछ । अमेरिकाले यसै वर्षको अन्त्यतिर चिनियाँ राष्ट्रपति सीलाई पनि अमेरिका भ्रमणको निमन्त्रणा दिने तयारी गरेको बताइएको छ ।
केलीले ट्रम्पको चीन भ्रमणलाई अत्यन्त प्रतीकात्मक र रणनीतिक महत्वको भएको उल्लेख गर्दै चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउने, पारस्परिकता र निष्पक्षतालाई प्राथमिकता दिने तथा अमेरिकी आर्थिक स्वतन्त्रतालाई मजबुत बनाउने विषयमा केन्द्रित हुने बताएकी छन् ।
यसअघि वर्षको सुरुवातमै तय भएको ट्रम्पको चीन भ्रमण अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणपछि उत्पन्न परिस्थितिका कारण मार्चमा स्थगित गरिएको थियो । हाल ट्रम्प प्रशासन युद्धको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा जुटिरहेको छ ।
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्पले चीनमाथि इरानको तेल खरिद तथा सैन्य र नागरिक प्रयोजनमा प्रयोग हुने सामग्रीको कारोबार रोक्न दबाब दिन सक्नेछन् । गत साता अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले चीनले इरानलाई आर्थिक रूपमा सहयोग गरिरहेको आरोप लगाएका थिए । उनले चीनले इरानबाट ९० प्रतिशत ऊर्जा खरिद गरेर अप्रत्यक्ष रूपमा आतंकवादलाई सहयोग पुर्याइरहेको दाबी गरेका छन् ।
इरानले अमेरिका र इजरायलको आक्रमणको प्रतिउत्तरस्वरूप विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व अर्थतन्त्रमा असर परेको छ । विशेषगरी पश्चिम एसियाबाट तेल आयातमा निर्भर एसियाली मुलुकहरू बढी प्रभावित बनेका छन् ।
यता चीनले भने युद्ध अन्त्यको पक्षमा रहेको बताउँदै आएको छ । बेइजिङले हालै इरानी विदेशमन्त्री अब्बास अराघ्चीलाई स्वागत गरेको थियो । साथै, चीनले इरानको तेल क्षेत्रमा अमेरिकाले लगाएको एकपक्षीय प्रतिबन्ध स्वीकार नगर्ने अडान दोहोर्याउँदै आएको छ ।
भ्रमणका क्रममा ट्रम्पले रुसलाई चीनले दिएको समर्थन, व्यापार असन्तुलन तथा दुर्लभ खनिज पदार्थको आपूर्तिको विषय पनि उठाउने अपेक्षा गरिएको छ । अमेरिकी प्रतिनिधिमण्डलमा बोइङ तथा केही कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरू समेत सहभागी हुनेछन् ।
ताइवानको विषयमा भने अमेरिकाको नीति यथावत रहने बताइएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको भए पनि अमेरिकाले त्यहाँ सुरक्षा र आर्थिक प्रतिबद्धता कायम राखेको छ ।