एजेन्सी - भारतको तमिलनाडु राज्यमा टीभीके पार्टीका प्रमुख चन्द्रशेखर जोसेफ विजयले आइतबार मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । धेरै दिनको संघर्षपछि उनले शपथ लिएका हुन् ।
उनले चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा शपथ लिए । गभर्नरले अभिनेताबाट राजनीतिकर्मी बनेका विजयलाई मे १३ वा सोभन्दा अगाडि विधानसभामा विश्वासको मत लिन निर्देशन दिएका छन् ।विजयको पार्टी टीभीकेले तामिलनाडुको चुनावमा तहल्का मच्चाउँदै राज्यको राजनीतिमा ५० वर्षदेखि वर्चस्व जमाउँदै आएका द्रविड मुन्नेत्र कझगम र अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कझगम जस्ता परम्परागत शक्तिहरूलाई धराशायी बनाइदियो ।
विजयले एमके स्टालिनको उत्तराधिकारीको रूपमा तामिलनाडुको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । विदुथलाई चिरुथैगल काची र इन्डियन युनियन मुस्लिम लिगले शनिबार टीभीकेलाई विनाशर्त समर्थन दिएपछि २३४ सदस्यीय विधानसभामा विजयलाई आवश्यक ११८ सिटको बहुमतको आँकडा पुर्याउन मद्दत मिल्यो ।
कांग्रेस, सीपीआई र सीपीएमले यसअघि नै टीभीकेलाई समर्थन गरिसकेका थिए । त्यसले गर्दा शुक्रबार रातिसम्म उसको संख्या १०७ बाट बढेर ११६ पुगेको थियो। भिसीके र आईयूएमएल पनि सामेल भएसँगै यो संख्या १२० पुग्यो ।