सिन्ह्व- संयुक्त राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ताले मानवीय मामिला समन्वय कार्यालयलाई उद्धृत गर्दै पछिल्ला तीन दिनमा इटुरी र उत्तर किभु क्षेत्रमा कम्तीमा ३४ जना सर्वसाधारणको ज्यान गएको जानकारी दिएका छन् ।
इटुरी प्रान्तका इरुमु र माम्बासा क्षेत्रमा मङ्गलबारदेखि बिहीबारसम्म भएका आक्रमणमा कम्तीमा १५ जना नागरिकको मृत्यु भएको बताइएको छ । हिंसापछि धेरै स्थानीयवासी उत्तर किभुका छिमेकी गाउँतर्फ विस्थापित हुन बाध्य भएका छन् ।
त्यसैगरी, उत्तर किभुको ओइचा क्षेत्रमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा मङ्गलबार र बुधबार गरी कम्तीमा १९ जना नागरिकको ज्यान गएको जनाइएको छ । स्थानीय स्रोतहरूका अनुसार धेरै नागरिक खेतमा काम गरिरहेका बेला आक्रमणमा परेका थिए भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् ।
सुनखानीका लागि परिचित माम्बासामा मार्च महिनाको मध्यदेखि यता कम्तीमा १३० जना नागरिक मारिएका छन् भने ५०० भन्दा बढी व्यक्तिलाई अपहरण गरिएको बताइएको छ । हिंसाका कारण ६८ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । साथै, बेनी र लुबेरो क्षेत्रमा ३ लाख १० हजारभन्दा बढी नागरिक घर छोड्न बाध्य भएका छन् ।
संयुक्त राष्ट्रसंघले हाल विस्थापित नागरिकहरूको अवस्था तथा आवश्यकताको मूल्याङ्कन भइरहेको जनाएको छ । साथै, द्वन्द्वरत सबै पक्षलाई सर्वसाधारणमाथिका आक्रमण तत्काल रोक्न तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।