एएफपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको भन्दै इटालीमाथि सार्वजनिक आलोचना गरेपछि वासिङ्टन र रोमबीच देखिएको असहजता कम गर्ने प्रयासस्वरूप अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । पछिल्ला दिनमा ट्रान्सअटलान्टिक सम्बन्धमा बढ्दो तनावबीच भएको यो भेटलाई कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।
रुबियोले एक दिनअघि भ्याटिकनमा पोप लियो चौधौँसँग ‘मैत्रीपूर्ण र रचनात्मक’ भेटवार्ता गरेका थिए। युद्धविरोधी अभिव्यक्तिका कारण ट्रम्पले पोपको आलोचना गरेपछि रुबियोको रोम भ्रमण अझ बढी संवेदनशील बनेको विश्लेषण गरिएको छ । त्यसपछि शुक्रबार उनले रोमस्थित कार्यालयमा दक्षिणपन्थी नेतृ मेलोनीसँग प्रत्यक्ष वार्ता गरेका हुन्।
मेलोनीलाई ट्रम्प प्रशासनको सबैभन्दा निकट युरोपेली सहयोगीमध्ये एक मानिन्छ । तर इरानसँगको युद्धका क्रममा पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै ट्रम्पले हालै उनीमाथि तीखो टिप्पणी गरेका थिए। गत महिना एक इटालियन पत्रिकासँगको अन्तर्वार्तामा ट्रम्पले आफू मेलोनीको भूमिकाबाट ‘स्तब्ध’ भएको बताउँदै उनिसँग साहस हुने अपेक्षा गरेको तर आफू गलत सावित भएको टिप्पणी गरेका थिए।
ट्रम्पको त्यो अभिव्यक्ति मेलोनीले अमेरिकी मूलका पहिलो पोप लियो चौधौँमाथि गरिएको ट्रम्पको आलोचनालाई अस्वीकार्य भनेको केही समयपछि आएको थियो । यसले व्यक्तिगत सम्बन्ध नजिक भए पनि इटाली र अमेरिकी प्रशासनबीच विदेश नीतिका केही मुद्दामा मतभेद बढ्दै गएको सङ्केत दिएको छ ।
हालै ट्रम्पले इरान युद्धमा इटालीले ‘कुनै सहयोग नगरेको’ भन्दै इटालीबाट अमेरिकी सेना फिर्ता बोलाउने चेतावनीसमेत दिएका थिए। यसले नाटो गठबन्धनभित्र अमेरिका र युरोपबीचको सम्बन्धलाई लिएर नयाँ बहस सुरु भएको छ ।
शुक्रबार रुबियोसँग छुट्टै भेट गरेका इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले अमेरिका र युरोपबीचको साझेदारी अझै अपरिहार्य रहेको बताए । उनले ट्रान्सअटलान्टिक सम्बन्धलाई कमजोर बनाउन नहुने धारणा राख्दै दुवै पक्ष एकअर्काका लागि आवश्यक रहेको उल्लेख गरे ।
ताजानीले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै युरोपलाई अमेरिकाको र अमेरिकालाई युरोपको उत्तिकै आवश्यकता रहेको बताए । उनले मित्र राष्ट्रहरूबीच मतभेद हुन सक्ने भए पनि त्यस्ता विषय खुला रूपमा उठाउनु नै साँचो साझेदारीको विशेषता भएको धारणा व्यक्त गरे । उनका अनुसार सहयोगी हुनुको अर्थ आफ्ना अडान स्पष्ट रूपमा राख्दै साझा भूमिकाको खोजी गर्नु हो ।
रुबियोको भ्रमणका क्रममा इटालीको विदेश मन्त्रालयले उनको पारिवारिक पृष्ठभूमिसँग सम्बन्धित विशेष दस्तावेज पनि हस्तान्तरण गरेको थियो । क्युबाली मूलका अमेरिकी नागरिक रुबियोका पुर्खा इटालीसँग सम्बन्धित रहेको पुष्टि गर्ने ती कागजातलाई उनले ‘विशेष सम्मान’ र ‘भावनात्मक क्षण’ का रूपमा लिएका थिए ।
स्पेनिस भाषामा धाराप्रवाह बोल्ने रुबियोले आफू अब इटालियन भाषा सिक्ने तयारीमा रहेको पनि बताए । उनले अर्को पटक इटाली फर्किंदा इटालियन भाषामै भाषण दिने प्रयास गर्ने उल्लेख गरे । कूटनीतिक तनावबीच गरिएको यस्तो व्यक्तिगत र सांस्कृतिक संवादलाई सम्बन्ध सुधारतर्फको सकारात्मक सङ्केतका रूपमा पनि हेरिएको छ ।
इटालीका विदेशमन्त्री ताजानीले रुबियोसँग हर्मुज जलघाँटीको अवस्थाबारे पनि विस्तृत छलफल गर्ने बताएका छन् । इरानले प्रभावकारी रूपमा अवरुद्ध बनाएको उक्त समुद्री मार्ग अहिले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि गम्भीर चिन्ताको विषय बनेको छ । दुवै पक्षबीच लेबनानको अवस्था, मध्यपूर्वीय सुरक्षा चुनौती तथा इरानसँग बढ्दो तनावबारे पनि कुराकानी हुने जनाइएको छ ।
त्यसैगरी भेनेजुएला, क्युबा र युक्रेन युद्धका विषय पनि छलफलको एजेन्डामा रहेका छन् । इटालियन अधिकारीहरूका अनुसार रोमले युक्रेन युद्धमा रुसविरुद्ध किएभलाई समर्थन गर्ने आफ्नो नीति कायम राखेको छ र त्यसबारे अमेरिकी पक्षसँग समन्वय जारी रहनेछ ।
यस हप्ताको सुरुमा मेलोनीले इटालीबाट अमेरिकी सेना फिर्ता लिने सम्भावित निर्णय आफ्नो नियन्त्रणभन्दा बाहिरको विषय भएको बताएका थिए । उनले व्यक्तिगत रूपमा त्यसमा सहमत नरहेको पनि स्पष्ट पारेका थिए ।
मेलोनीले इटालीले सधैँ आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै आएको उल्लेख गरे। उनले विशेष गरी नाटोभित्र इटालीले अफगानिस्तान र इराकमा आफ्ना प्रत्यक्ष राष्ट्रिय हित नजोडिएको अवस्थामा समेत जिम्मेवारी निर्वाह गरेको स्मरण गराए ।
ट्रम्प प्रशासनले हाल स्पेनबाट अमेरिकी सेना फिर्ता गर्ने चेतावनी दिइसकेको छ भने पेन्टागनले जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक हटाउने योजना सार्वजनिक गरिसकेको छ । यसले युरोपमा अमेरिकी सैन्य उपस्थितिको दीर्घकालीन रणनीतिबारे नयाँ प्रश्न उठाएको छ ।
आधिकारिक तथ्याङ्कअनुसार डिसेम्बर ३१, २०२५ सम्म इटालीमा १२ हजार ६६२ अमेरिकी सक्रिय सैनिक तैनाथ थिए । स्पेनमा तीन हजार ८१४ सैनिक रहेका थिए भने जर्मनीमा अमेरिकी सैनिकको सङ्ख्या ३६ हजार ४३६ पुगेको थियो । युरोपमा अमेरिकी सैन्य उपस्थिति पुनर्संरचना गर्ने सम्भावित योजनाले नाटो सदस्य राष्ट्रहरूमा रणनीतिक चासो र चिन्ता दुवै बढाएको छ ।