काठमाडौं - ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत निर्माण कम्पनीलाई राजश्व छुट दिई राज्यलाई ठूलो आर्थिक क्षति पुर्याइएको आरोप लगाइएको छ। सोही आधारमा तत्कालीन निर्णयकर्तामाथि भ्रष्टाचारको अभियोग लगाइएको आयोगले जनाएको छ।
मुद्दामा पूर्व सचिवहरू शंकर अधिकारी, केबल भण्डारी र सुरेश आचार्य लगायतलाई पनि विपक्षी बनाइएको छ। अख्तियारले पूर्वमन्त्री कार्कीसहित चार पूर्व सचिवबाट कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो दाबी गरेको जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनासँग सम्बन्धित आर्थिक अनियमितताबारे लामो समयदेखि विभिन्न तहमा प्रश्न उठ्दै आएको थियो। अहिले अख्तियारले औपचारिक रूपमा मुद्दा दायर गरेसँगै यो प्रकरण थप चर्चामा आएको छ।