काठमाडौं - सूचना प्रविधि शिक्षा र उद्योगबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेज (KCC) बीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।बिहीबार पुतलीसडकस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी र केसीसीका प्रिन्सिपल राजु कट्टेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षाजस्ता आधुनिक प्रविधिमा दक्ष बनाउने उद्देश्य राखिएको छ। दुवै संस्थाले विद्यार्थीलाई उद्योगमैत्री तथा व्यावहारिक ज्ञान प्रदान गर्दै रोजगारयोग्य जनशक्ति उत्पादनमा सहकार्य गर्ने जनाएका छन्। साझेदारीअन्तर्गत एआई र साइबर सुरक्षामा केन्द्रित विशेष तालिम, कार्यशाला र बुटक्याम्प सञ्चालन गरिनेछ। योग्य विद्यार्थीहरूले इन्टर्नसिपको अवसर प्राप्त गर्नुका साथै विभिन्न उद्योगसँग जोडिने अवसर समेत पाउने बताइएको छ।
यस्तै, दुवै संस्थाले पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्न सहकार्य गर्नेछन्। विद्यार्थीहरूको नवप्रवर्तन क्षमता अभिवृद्धिका लागि संयुक्त रूपमा ह्याकाथन, आइडिया फेस्ट तथा उद्योग–शिक्षा संवाद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा बोल्दै चिरञ्जीबी अधिकारीले उद्योग र शिक्षाबीचको सहकार्यले नेपालमा दक्ष प्राविधिक जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउ । उनले वास्तविक समस्या समाधान गर्न सक्ने सीप विकासमा जोड दिँदै प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
त्यस्तै, प्रिन्सिपल राजु कट्टेलले सहकार्यबाट विद्यार्थीहरूले विज्ञहरूको मार्गदर्शन, विशेष प्रयोगशाला र अन्तर्राष्ट्रियस्तरका प्रमाणपत्र प्राप्त गर्ने अवसर पाउने बताए । उनका अनुसार यसले नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्नेछ। सम्झौतामा सुरक्षा अडिट तथा सामाजिक प्रभावका लागि एआईमा आधारित समाधान विकास गर्ने विषयसमेत समेटिएको छ।
दुवै संस्थाले नेपालको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। दुई वर्षका लागि गरिएको उक्त सम्झौता आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता दुवै पक्षले जनाएका छन्।