काठमाडाैं - हालसम्म सार्वजनिक भएका अन्तर्राष्ट्रिय समाचारहरू अनुसार अमेरिका र इरानबीच होर्मुज जलमार्ग (Strait of Hormuz) क्रमशः खुला गर्ने विषयमा वार्ता र प्रारम्भिक समझदारी भएको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दुवै पक्षबीच जलमार्ग पुनः सञ्चालन, नाकाबन्दी खुकुलो बनाउने र युद्धविरामसम्बन्धी सहमति नजिक पुगेको उल्लेख गरेका छन् ।
स्राेतका अनुसार अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँगको वार्तामा “महत्त्वपूर्ण प्रगति” भएको बताएका छन् । यद्यपि इरानले भने प्रस्तावित सहमतिका केही बुँदामाथि अझै छलफल भइरहेको जनाएको छ ।
रिपोर्टअनुसार दुवै देशबीच जलमार्ग खुलाउने, समुद्री आवागमन सहज बनाउने तथा तनाव कम गर्ने विषयमा समझदारी बनेको हो । यसअन्तर्गत अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी केही चरणमा खुकुलो बनाउने तथा इरानले स्टेड अफ हरमुज हुँदै हुने अन्तर्राष्ट्रिय जहाज आवागमन क्रमशः खुला गर्ने सहमति भएको बताइएको छ । यो जलमार्ग विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिन्छ । विश्वको ठूलो परिमाणमा कच्चा तेल यही मार्ग हुँदै ओसारपसार हुने भएकाले पछिल्लो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर परेको थियो ।
सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको र विश्व बजारमा सकारात्मक संकेत देखिएको समाचारमा उल्लेख छ । यसअघि पनि अस्थायी युद्धविरामसँगै होर्मुज जलमार्ग सीमित रूपमा खोलिएको रिपोर्ट आएको थियो ।तर इरानले केही अमेरिकी प्रस्तावलाई “अमेरिकी इच्छा सूची” भन्दै पूर्ण सहमति नभएको संकेत पनि दिएको छ ।