काठमाडौं- नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘पियारी’ बोलको कौडा/चुड्का गीत सार्वजनिक गरिएको छ। गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको यो गीतले विशेषतः गोरखा–तनहुँ आसपासमा प्रचलित परम्परागत सांगीतिक शैलीलाई उजागर गरेको निर्माण टिमले जनाएको छ।
गीतमा गणेश गुरुङ, तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको छ भने शब्द सिर्जना गणेश गुरुङकै हो। संगीत संकलन चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन)ले गरेका हुन्। गीतको एरेञ्ज तेजेन्द्र दुराले गरेका छन्।
दुई दशकभन्दा बढी समयदेखि नेपाली मौलिक गीत–संगीतमा सक्रिय गणेश गुरुङ ‘कौडा किङ’का रूपमा परिचित छन्। औपचारिक रूपमा मौलिक गीतलाई अवार्ड दिने प्रचलन सुरु भएपछि नेपालमै पहिलोपटक कौडा गीतमार्फत ‘राप्ती म्युजिक अवार्ड’ (सुनको औंठी) प्राप्त गर्न सफल भएका उनी पछिल्लो समय रैथाने भाकाको संरक्षण अभियानमा केन्द्रित छन्।
सामान्यतया चुड्का गीत वैशाख पूर्णिमादेखि सुरु हुने परम्परासँग जोडिएको मानिन्छ। क्षेत्रअनुसार सतीघाटु र चुड्का गीतबीच विशेष सम्बन्ध रहने बताइन्छ। कौडा/चुड्का गीत गण्डक क्षेत्रका गुरुङ, मगर, दुरा र दराई समुदायमा बढी प्रचलित छ।
म्युजिक भिडियोतर्फ हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र गणेश गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका छन्। कोरियोग्राफी तथा निर्देशन मनाङ गुरुङले सम्हालेका छन्।
गायक गणेश गुरुङका अनुसार ‘सल्ला धुपैले’, ‘गोरखा मनकामना’ र ‘गोगनपानी’जस्ता चर्चित दोहोरी गीतपछि ‘पियारी’लाई व्यावसायिक भन्दा पनि मौलिक सांस्कृतिक सम्पदाको संरक्षण अभियानका रूपमा प्रस्तुत गरिएको हो। भिडियो गायक गुरुङकै युट्युव च्यानल "गणेश गुरुङ" मार्फत सार्वजनिक गरिएको हो।