मनाङ- गायक एवम् संगीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः संगीत क्षेत्रमा फर्किएका छन् । गायक, पर्यटन व्यवसायी, समाजसेवी एवम् फिल्म निर्माणमा सक्रिय गुरुङ लामो समयपछि नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै संगीत क्षेत्रमा फर्किएका हुन् ।
लामो समयपछि पुनः संगीतमा फर्किएका उनले भने,“पुनः संगीत क्षेत्रमा आउने सपना पूरा भएको छ । मेरो लागि गीतसंगीत भनेको एक साधना हो, जसले मलाई सधैँ ऊर्जा र प्रेरणा दिन्छ ।” विगतमा देशमा भएका विभिन्न महामारीजन्य घटना र मनाङमा बाढीपहिरोजस्ता विपद्ले गर्दा गीतसंगीतभन्दा समाजसेवालाई समय दिनुपरेको गुरुङले सुनाए । अब भने यसै क्षेत्रमा निरन्तर लागिरहेने उनको प्रतिबद्धता छ ।
‘हिम घोडा’ गीतमा शब्द तथा संगीत अशुसेन लामाले गरेका छन् भने संगीत संयोजन राजु खड्काले गरेका छन् । यस गीतको छायाङ्कन मनाङका विभिन्न रमणीयस्थलमा गरिएको छ । गीतले मनाङको प्राकृतिक सुन्दरता झल्काउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ । गायक गुरुङले ‘हिम घोडा’ मार्फत आफ्नो पुनरागमन मात्र नभई नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ । उनको गीत, संगीतमा मनाङको संस्कृति, संस्कार र प्राकृतिक सौन्दर्यता समावेश भएको पाइन्छ ।