काठमाडौं -फिल्ममाथि प्रतिबन्ध लगाइएको विषयलाई लिएर कलाकार तथा साहित्यकर्मीहरूले विरोध जनाएका छन्। काठमाडौंको माइतीघर मण्डलामा मंगलबार कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको हो।
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले वैशाख २२ गतेसम्मका लागि फिल्म प्रदर्शन नगर्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार वादी समुदायको तर्फबाट रोशनी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरिएको हो। चलचित्रमा प्रयोग गरिएका केही शब्दप्रति आपत्ति जनाउँदै रिट दायर गरिएको जनाइएको छ।
निर्देशक यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ वैशाख १८ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो। षट्कोण आर्टसको निर्माणमा तयार भएको फिल्म वादी समुदायका महिलाहरूको संघर्षमा आधारित कथावस्तु समेटिएको छ। यसअघि केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिइसकेको थियो।
प्रदर्शनमा सहभागीहरूले ‘सिनेमा–साहित्य बोल्न देऊ’, ‘हाम्रो कथा खुल्न देऊ’, ‘संविधानले दिएको अधिकार सुनिश्चित गर’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले सिर्जनात्मक अभिव्यक्तिमा हस्तक्षेप नगर्न र कलाकर्मीको स्वतन्त्रताको सम्मान गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।
आन्दोलनरत कलाकर्मीहरूले अदालतको आदेशको सम्मान गर्दै पनि अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको संरक्षण आवश्यक रहेको बताएका छन्।