न्युयोर्क - दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिल देखि जुलाई सम्म ७८ लाख मानिसहरूलाई चरम खाद्य असुरक्षाको अवस्थामा धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका छन् ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आइपीसी) रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन । रियोर्टमा उल्लेखित तथ्यांकले दक्षिणी सुडानको कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिसहरु हाल तीव्र खाद्य असुरक्षाको सामना गर्न बाध्य भएको जनाएको छ ।
प्रतिवेदनका अनुसार ७३ हजार ३०० मानिसहरूले दुखद एंव “विनाशकारी“ भोकमरी संकटकोे सामना गरिरहेका छन् । यस अघि २५ लाख मानिसहरू भोकमरीको आपतकालीन चरणको सामना गदै बाँचिरहेको बताइउको थियो भने ५३ लाख मानिसहरू संकटको चरणमा बाँचिरहेका छन् ।
संयुक्त राष्ट्र संघका एजेन्सीहरूले बढ्दो द्वन्द्व, सामूहिक विस्थापन, आर्थिक गिरावट, जलवायु परिवर्तन कृषि उत्पादनमा कमीको कारण यो संकट बढेको बताएका छन् । आईपीसी रिपोर्ट संयुक्त राष्ट्रका एजेन्सीहरू, क्षेत्रीय साझेदारहरू र सहायता संस्थाहरूको समन्वयमा गरिने विश्वव्यापी पहल हो यसले खाद्य असुरक्षालाई विभिन्न पाँच चरणमा वर्गीकृत गरी अध्यन अनुसन्धान गर्दछ ।