काठमाडौं - नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेकाे छ । पछिल्लो समय पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा अवरोध र विश्व पर्यटन बजारमा देखिएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले छिमेकी मुलुक भारतलक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्र बनाएको हाे ।
सोही रणनीतिअन्तर्गत भारतको नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट ‘डेस्टिनेशन वेडिङ’ गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ। नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) ले भारतस्थित नेपाली दूतावाससँगको सहकार्यमा वैशाख १५ र १६ गते ‘नेपाल डेस्टिनेशन वेडिङ एन्ड ओटीएज कनेक्ट’ कार्यक्रम आयोजना गरेका हुन्।
दुईदिने कार्यक्रममा नेपाल र भारतका पर्यटन तथा वेडिङ उद्योगसँग सम्बन्धित प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममार्फत नेपाललाई सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र परम्परागत वैवाहिक संस्कारको संयोजनयुक्त ‘ड्रिम वेडिङ डेस्टिनेसन’का रूपमा स्थापित गर्ने प्रयास गरिएको जनाइएको छ।
कार्यक्रममा २१ नेपाली कम्पनी तथा ४५ भारतीय वेडिङ प्लानरहरूको सहभागिता रहेको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले जानकारी दिए। उनका अनुसार नेपाली प्रतिनिधिहरूले वैवाहिक समारोहका लागि आवश्यक उच्चस्तरीय होटल, रिसोर्ट र सेवासम्बन्धी प्रस्तुति दिएका थिए। साथै, बी–टु–बी बैठक, नेटवर्किङ र छलफलमार्फत नेपाल–भारतबीच वैवाहिक पर्यटन सहकार्य विस्तार गर्ने आधार तयार भएको उनले बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले वैवाहिक पर्यटन नेपालका लागि उच्च सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यसले उच्च मूल्यका पर्यटक भित्र्याउन सहयोग गर्ने बताए। उनका अनुसार यस्ता प्रयासले समग्र अर्थतन्त्र र सहायक क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले नेपाल–भारत सहकार्यले वैवाहिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे। इन्डियन वेडिङ प्लानर एसोसिएसनका अध्यक्ष निरज धवनले भारतीय बजारमा डेस्टिनेशन वेडिङप्रतिको बढ्दो आकर्षणले नेपालका लागि ठूलो अवसर सिर्जना गरेको बताए।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले यस्ता कार्यक्रमले नेपाल–भारतबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध थप सुदृढ बनाउँदै द्विपक्षीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले पूर्वीय सभ्यतामा विवाहको सांस्कृतिक महत्वबारे प्रकाश पार्दै नेपाल भारतीय बजारका लागि उपयुक्त वैवाहिक गन्तव्य बन्न सक्ने उल्लेख गरे।
नेपाल पर्यटन बोर्डका अनुसार भारत नेपालका लागि प्रमुख पर्यटन स्रोत बजार हो। सन् २०२५ मा नेपाल भित्रिएका कुल ११ लाख ५८ हजार ४५१ पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४३८ भारतीय पर्यटक रहेका छन्।
बोर्डका अनुसार भारतीय बजार लक्षित वैवाहिक पर्यटन प्रवर्द्धनले उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्नुका साथै वर्षभरि पर्यटन गतिविधि सन्तुलित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।