काठमाडौं - काठमाडौं उपत्यकामा नदी किनारका अतिक्रमित संरचना हटाउने सरकारी अभियानको प्रभाव देशका अन्य सहरमा पनि देखिन थालेको छ। आज बिहानैदेखि बुटवल र वीरगञ्जमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ।
वीरगञ्जमा नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर आसपास बनेका घरटहरा र अन्य संरचना हटाउन थालेको हो।कार्यालयका अनुसार जानकीटोलदेखि गण्डकचोकसम्म फैलिएको नहर किनारमा करिब ३०० भन्दा बढी संरचना अतिक्रमण गरेर निर्माण गरिएको पाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा व्यवस्थामा ती संरचना हटाउने काम भइरहेको छ।
पर्सा जिल्लाअन्तर्गत पर्ने नहर क्षेत्रको करिब २६ किलोमिटर क्षेत्रमा फैलिएको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको जनाइएको छ।यस्तै, बुटवल उपमहानगरपालिका–४ मा उच्च अदालत तुलसीपुर, बुटवल इजलास अगाडि रहेको सरकारी जग्गामा बनेका घरटहरा हटाउन पनि अभियान अघि बढाइएको छ।
उक्त जग्गा पूर्वमा लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको भए पनि कार्यालय खारेज भएपछि सरकारी निर्णयअनुसार अदालतलाई भोगाधिकार दिइएको थियो।साबिक वडा नम्बर ६ (हाल वडा नम्बर ४) अन्तर्गत पर्ने करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा फैलिएका संरचना हटाउन थालिएको हो।
शनिबार साँझ उपमहानगरपालिकाले माइकिङमार्फत सूचना जारी गर्दै ती संरचना हटाउन निर्देशन दिएको थियो।उक्त क्षेत्रमा बार एसोसिएसन र प्रदेश प्रमुखको कार्यालयलगायतका संस्थाका संरचना पनि रहेकाले ती अतिक्रमणभित्र पर्छन् वा पर्दैनन् भन्ने विषयमा थप अध्ययन भइरहेको जनाइएको छ।करिब बाह्र वर्षअघि पनि सोही क्षेत्र खाली गराउने प्रयास भएको थियो। अहिले त्यहाँका धेरै संरचना चिया पसल र रेष्टुरेन्टका रूपमा सञ्चालनमा रहेका छन्।