नयाँ दिल्ली - आम आदमी पार्टी (आप) का प्रभावशाली नेता तथा राज्यसभा सदस्य राघव चड्ढाले पार्टी परित्याग गर्दै भारतीय जनता पार्टी (बीजेपी) मा प्रवेश गरेका छन्। पार्टी छोडेपछि उनले एक भिडियो सन्देशमार्फत आफ्नो निर्णयका कारण सार्वजनिक गरेका हुन्।
भिडियो सन्देशमा चड्ढाले आफ्नो पृष्ठभूमि स्मरण गर्दै आफू एक चार्टर्ड एकाउन्टेन्ट भएको र उज्ज्वल करियर हुँदाहुँदै पनि देशसेवाको भावनाले राजनीतिमा प्रवेश गरेको बताएका छन्। उनले विगत १५ वर्षसम्म मिहिनेत गरेर निर्माण गरेको पार्टीले नै अहिले आफूलाई काम गर्न र संसदमा बोल्नबाट रोकेको आरोप लगाए।
हालको ‘आप’ नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै उनले पार्टी केही भ्रष्ट व्यक्तिहरूको नियन्त्रणमा पुगेको र उनीहरू देशको हितभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको टिप्पणी गरे।चड्ढाले आफ्नो अगाडि तीन विकल्प रहेको बताएका छन्-राजनीति नै छोड्ने, पार्टीभित्रै बसेर सुधार गर्ने प्रयास गर्ने (जसमा उनी सफल हुन नसकेको दाबी गरेका छन्), वा आफ्नो अनुभव र ऊर्जालाई अर्को दलमार्फत सकारात्मक राजनीतिमा प्रयोग गर्ने। यीमध्ये अन्तिम विकल्प रोज्दै उनले ‘आप’सँगको सम्बन्ध अन्त्य गरेको स्पष्ट पारे।
राघव चड्ढासँगै अन्य ६ जना सांसदहरूले पनि पार्टी परित्याग गरेका छन्। चड्ढाका अनुसार कुल १० मध्ये ७ सांसदले पार्टी छोडेकाले यो संख्या दुई-तिहाइभन्दा बढी हुने भएकाले उनीहरूमाथि ‘दल बदल’ सम्बन्धी कानुनी कारबाही लागु नहुनेछ। यस सामूहिक बहिर्गमनपछि अब राज्यसभामा आम आदमी पार्टीका मात्र ३ जना सांसद बाँकी रहनेछन्।