काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिभित्र उत्पन्न विवादमा पार्टीगत संगठनकोसमेत प्रवेश भएको छ । संघका अध्यक्ष गुरुङले एकलौटी निर्णय गर्दै दुई जना सल्लाहकार हटाएको भन्दै महासचिव महेशकुमार बस्नेतले मंगलबार गुरुङलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
यो समाचार तयार पार्दासम्म अध्यक्ष गुरुङले स्पष्टीकरण दिएका छैनन् । उनले स्पष्टीकरण सोध्ने अधिकार महासचिव बस्नेतसँग नभएको बताएका छन् ।
यहीबीच बुधबार नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संघका महासचिव बस्नेतसँग स्पष्टीकरण सोधेको छ । लोकतान्त्रिक एसोसिएसनको नीतिविपरीत आफ्नै कार्यसमितिका अध्यक्ष गुरुङलाई असहयोग गरेको भन्दै बस्नेतलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
एसोसिएसनका अध्यक्ष दीपक थापाले महासचिव बस्नेतलाई पठाएको पत्रमा बस्नेतले संघभित्र दीर्घकालीन असर पार्ने निर्णयहरुमा सहमति जनाउँदै आफ्नै अध्यक्षलाई असहयोग गर्न गुट, उपगुट चलाएको आरोप लगाइएको छ । बस्नेतले आफ्नै अध्यक्षलाई हटाएर तदर्थ समिति गठन गर्न लागेको जानकारी प्राप्त भएको पत्रमा उल्लेख गरिएको छ । संघमा उत्पन्न भएको विवादका विषयमा एसोसिएसनालाई किन जानकारी नगराएको भन्दै थापाले प्रश्न गरेका छन् ।
‘तपाईंले म लगायत यस कार्यसमितिलाई एक पटक यो–यो भएको छ के गरुम ? अथवा समस्याहरु आएका छन्, घरका समस्याहरुको समाधान आफ्नै घरमा बसेर गरुम्, किन भन्न सक्नुभएन ?,’ पत्रमा भनिएको छ, ‘संघको महासचिव पद लिन, निर्वाचित गराउन यही संस्था चाहियो अनि आज यही संस्थालाई लात हानेर यो कार्य गर्न कुन नैतिकताले दिन्छ ?’
पत्रमा व्यवसायीका समस्याको समाधानलाई प्राथमिकतामा राख्नुपर्नेमा समस्यामा राजनीति गर्न खोज्नेहरुको दाउपेचलाई समर्थन गरी अध्यक्ष गुरुङलाई दुईतिहाइको हस्ताक्षर संकलन गरी हटाउन खोजेको देखिएको भनिएको छ । महासचिव बस्नेतले एसोसिएसनको विधानको परिच्छेद् २ को दफा ४ विपरीत कार्य गरेको भन्दै के कारणले एसोसिएसनलाई दीर्घकालीन असर पर्ने काम निर्णय र प्रक्रियामा सहमति दिएको भनेर २४ घण्टाभित्र स्पष्ट लेखेर बुझाउन भनेको छ । संघमा उम्मेदवारी दिँदा आफ्नो भूमिका पारदर्शी तथा उत्तरदायी हुने र यसको उल्लंघन गरे एसोसिएसन र नेपाली कांग्रेस पार्टीले गरेको कारबाही स्वीकार्न तयार रहेको भन्दै बस्नेतले हस्ताक्षर गरेको प्रतिबद्धतापत्रबारे पनि स्मरण गराइएको छ ।
संघको गत निर्वाचनमा अध्यक्ष गुरुङ र महासचिव बस्नेत एउटै प्यानलबाट चुनाव लडेका हुन् । लोकतान्त्रिक एसोसिएसनबाट उम्मेदवार बनेर निर्वाचित भएका अध्यक्ष र महासचिवबीचको विवादले संघको कामकारबाही नै अस्तव्यस्त भएको संघका एक कार्यसमिति सदस्यले बताए ।
अध्यक्ष गुरुङ भन्छन्– के कारबाही हुँदो रहेछ हेर्छु
विवादमा फसेको नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष भुवनसिंह गुरुङले महासचिव महेशकुमार बस्नेतले सोधेको २४ घण्टे स्पष्टीकरणको कुनै जवाफ दिन आवश्यक नभएको बताएका छन् । महासचिवले विधानविपरीत गएर कारबाही गर्न खोजेको उनको दाबी छ ।
‘मैले कसलाई स्पष्टीकरण दिने ? महासचिवले विधानको कुन दफा, कुन धारामा टेकेर स्पष्टीकरण मागेको हो ?,’ उनले भने, ‘वरीयताको हिसाबमा महासचिव चौथोमा हो । के कारबाही हुँदो रहेछ हेरौं न ।’ अध्यक्ष गुरुङले संघकै पदाधिकारीलाई समेत थाहा नदिई सल्लाहकार धनलाल जैसी र नवराज केसीलाई हटाएको आरोप छ । उनीहरुलाई बहुमत सदस्यको निर्णयले पदमुक्त गरिएको गुरुङको दाबी छ । ‘मैले कुनचाहिँ निर्णय एकलौटी गरेँ ? प्रमाण ल्याउनुप¥यो नि । आरोप त सावित हुनप¥यो,’ उनले भने, ‘मैले एक्लै कसैलाई निकाल्ने अधिकार छैन । बहुमत कार्यसमितिको निर्णयले निकालेको हो ।’
यस विषयमा छलफल गर्न बुधबार सिफलस्थित संघको कार्यालयमा अध्यक्ष गुरुङ, महासचिव बस्नेतका साथै दुवै पक्षका गरी करिब ५० जना जति व्यवसायी भेला भएका थिए । यद्यपि उक्त भेलाबाट कुनै निचोड ननिस्किएको जनाइएको छ । सल्लाहकार जैसी र केसीले संघको नेतृत्वको विपरीतका गतिविधि गरेको जानकारी पाएकाले कारबाहीमा परेको गुरुङपक्षको भनाइ छ ।