काठमाडाैं - महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात गरेकाे छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियन पे वालेट प्रयोगकर्ताबाट नेपाल भित्रै क्यूआर कोडमार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको सुरुवात गरेको हाे ।
यस प्रकारको सेवा यूनियन पे इन्टरनेशनलसँगको सहकार्यमा फोन पे मार्फत लागू गरिएको हो । यस सुविधाको सुरवातसँगै यूनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका महालक्ष्मी बैंकका क्यूआर मर्चेन्टहरुमा सजिलै क्यूआर स्कयान गरी भुक्तानी गर्न सक्ने छन् । विशेष गरी चीनलगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरु यस सुविधाबाट लाभान्वित हुने छन् भने यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम गर्नेछ ।
सन् २००२ मा स्थपना भएको यूनियनपे विश्वका सबैभन्दा ठुला भुक्तानी सेवा प्रदायकहरु मध्ये एक हो जसको ९.६ अर्ब भन्दा बढी कार्डहरु जारी भएका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृती रहेको छ । यस सेवाको सुरुवातसँगै हाल नेपालमा प्रदान भईरहेको क्यूआर पुर्वाधार अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । साथै बैंक डिजिटल नवप्रर्वद्धनलाई अझ सुरक्षित, प्रभावकारी तथा समावेशी बनाउन बैंकले प्रतिबद्ध जनाएकाे छ ।
हालै मात्र बैकले वर्ष २०८३ लाई डिजिटल प्रवद्र्धन वर्षको रुपमा मनाउने बैकको योजना अनुरुप मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत बैकका सबै सक्रिय मोबाइल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैकिङ प्लेटफर्म माफर्त बैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्न सक्ने सुविधा समेत बैंकले घोषणा गरेको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।