एजेन्सी - इरान र अमेरिकाबीचको विवादले फेरि एकपटक उग्र रूप लिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेट अफ होर्मुजबाट हुने इरानी ढुवानीलाई रोक्ने धम्की दिएपछि इरानी सेनाले कडा प्रतिकारको चेतावनी दिएको हो ।
इरानी सञ्चारमाध्यम आईआरआईबीमार्फत जारी गरिएको आधिकारिक बयानमा अमेरिकाको यो धम्कीलाई ‘गैरकानुनी’ र ‘समुद्री डकैती’जस्तो व्यवहार भनिएको छ ।इरानले आफ्ना बन्दरगाहमाथि कुनै पनि प्रकारको नाकाबन्दी वा आक्रमण भए त्यसको नतिजा अमेरिका मात्र नभई समग्र खाडी क्षेत्रले भोग्नुपर्ने संकेत गरेको छ ।
इरानी सेनाले छिमेकी खाडी राष्ट्रलाई समेत लक्षित गर्दै यस क्षेत्रका बन्दरगाहहरूको सुरक्षा या त सबैका लागि हुने वा कसैका लागि पनि नहुने स्पष्ट पारेको छ । यदि अमेरिकी सेनाले इरानी बन्दरगाहलाई निशाना बनाए फारसको खाडी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित नरहने उसले चेतावनी दिएको छ ।
इरानले युद्ध अन्त्य भएपछि पनि होर्मुज स्ट्रेटमा आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने र आफ्ना शत्रुसँग सम्बन्धित कुनै पनि जहाजलाई इरानी समुद्री सीमा प्रयोग गर्न नदिने घोषणा गरेको छ । इरानको यो कडा अडानले विश्वको प्रमुख तेल आपूर्ति मार्गमा सैन्य मुठभेडको जोखिमलाई झन् बढाएको छ ।