मुस्ताङ- मुस्ताङका किसानलाई आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका घार वितरण गरिएको छ । घरपझोङ गाउँपालिकाले पाँचवटै वडाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरेको हो ।
गाउँपालिकाले स्थानीय स्याउ किसानसँगको सहलगानीमा ४५ थान मौरीसहितका घार खरिद गरी वितरण गरेको छ । चालु आर्थिक वर्षको विनियोजित बजेट दुई लाख ५० हजार रुपैयाँ र स्थानीय स्याउ किसानहरूको दुई लाख ५० हजार रुपैयाँ लागत साझेदारी रहने गरी माग सङ्ख्याका आधारमा ४५ थान मौरीसहितका घार वितरण गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । स्याउखेतीको गुणस्तर तथा उत्पादन वृद्धि गरी किसानको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले घार वितरण गरेको उनले जानकारी दिए ।
पछिल्लो समय मुस्ताङका किसानले स्याउ उत्पादनलाई प्रभावकारी बनाउन मौरी चरन व्यवस्थापनमा जोड दिन थालेका छन् । यसअघि पनि सोही गाउँपालिकाले स्याउ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको थियो । वसन्त ऋतुको आगमनसँगै मुस्ताङका स्याउ बगैँचामा स्याउका बोटमा फूल फुल्ने सिजन सुरु हुन थालेको छ । प्रतिमौरीसहितका घारको मूल्य ढुवानीसहित ११ हजार रुपैयाँ पर्ने बताइएको छ । स्याउ फार्म, सहकारी, समूह र व्यक्तिगत स्याउ फार्म किसानलाई स्याउको परागसेचन (पोलिनेसन) वृद्धि गर्न मौरीसहितका घार अनुदानमा हस्तान्तरण गरिएको हो ।
विगत १८ वर्षदेखि मौरी व्यवसाय गर्दै आएका पोखरास्थित बेगनास मौरी घार उद्योगका व्यवसायी सूर्यप्रसाद लामिछानेले मुस्ताङमा स्याउलगायत रैथाने फलफूलको उत्पादन तथा गुणस्तर वृद्धिका लागि मौरीपालन आवश्यक रहेको बताए । स्याउको फूल फुल्ने बेला फ्रुड सेटिङका लागि स्याउ बगैँचाभित्र मौरीपालनले परागतसेचनामा सहयोग पुर्याउने व्यवसायी उनले बताए ।