एजेन्सी - इरानसँग युद्धविराम कायम रहेको ट्रम्पले बताएका छन् । उनले इरानविरुद्ध घोषणा गरिएको नौसैनिक नाकाबन्दी सोमबार बिहानदेखि लागू हुने जानकारी दिएका हुन्
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, इरानका बन्दरगाहहरूतर्फ आउने-जाने सबै जहाजहरूलाई रोकिनेछ।
ट्रम्पले इरान अझै पनि वार्ताको टेबलमा फर्किन सक्ने बताए । उनले इरान खराब स्थितिमा र दबाबमा रहेको दाबी गरे। ट्रम्पले भने, ‘यदि उनीहरू फर्किन्छन् भने ठीक छ, फर्किदैनन् भने पनि मलाई फरक पर्दैन।’
इरानसँगको वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि फेरि सैन्य कारबाही सुरु गर्न सक्ने वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख छ। रिपोर्टका अनुसार राष्ट्रपति ट्रम्प इरानमाथि पुनः हवाई आक्रमण गर्ने विकल्पमा विचार गरिरहेका छन्।
अमेरिकाले होर्मुज स्ट्रेटमा नौसैनिक नाकाबन्दीको घोषणा गरिसकेको छ र अब यसका साथै अन्य सैन्य विकल्पहरूमा पनि विचार भइरहेको बताएको छ। ह्वाइट हाउसले सबै विकल्प खुला रहेको र परिस्थितिको आधारमा अगाडिको निर्णय लिइने बताएको छ।